धरानः कोरोनाको महामारीमा जति जनता आतंकित छन्, त्यति नै मूल्यवृद्धिले आतंकित बनेको भन्दै धरानका राजनीतिकले दलले ध्यानाकर्षण गराएका छन् ।
धरान मेयर तिलक राई, इलाका प्रशासन कार्यालय र सुनसरी उद्योग वाणिज्य संघका पदाधिकारीलाई भेटेरै उनीहरुले ध्यानाकर्षण गराएका छन् ।
व्यवसायीले लकडाउनको फाइदा उठाउँदै मूल्यवृद्घि तथा कालोबजारी हुने गरेको गुनासो बढ्दै गएको बताउँदै समयमै सचेत हुनुपर्ने उनीहरुले ध्यानाकर्षण गराए । मङ्गलबार धरानका दल नेपाली कांग्रस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी, जनमुक्ति, संघीय लोकतात्रिक, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृतसहित ८ राजनीतिक दलले संयुक्तरुपमा ध्यानाकर्षणपत्र बुझाएका छन् ।
‘बन्दको मौका पारेर चर्को मूल्यवृद्धि तथा कालोबजारी हुने गरेको गुनासो आउन थालिसकेको छ’, नेपाली कांग्रेसका जिल्ला सचिव सुजेन्द्र गोलेले भने, ‘यसका लागि तत्कालै अनुगमन बढाउनुपर्ने आवश्यकता देखेर ध्यानाकर्षणपत्र बुझाइएको हो ।’
ध्यानाकर्षणपत्र बुझदै मेयर तिलक राईले बजार अनुगमनको लागि नगरपालिकाका कर्मचारीहरु नियमित खटिरहेको जानकारी दिए । उनले मूल्यसूची नै राखेर तरकारी, फलफूल बिक्री गरिरहेको पनि बताए । उनले खाद्यान्नमा चर्को मूल्यवृद्धि गरेको गुनासो आउन थालेको र तत्कालै अनुगमन गर्न थालिएको बताए । तस्वीरः दिलबहादुर राई