उदयपुरः टिकटक बनाउने क्रममा एक बालिकाको मृत्यु भएको छ ।
पासो लगाएर अभिनय गर्न खोज्दा त्यसमै परेर चौदण्डीगढी नगरपालिका–९ की सञ्जीता बस्नेतको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरले बुधबार साँझ ती बालिकाले मुढामा चढेर पासो लगाएर टिकटक बनाउन खोजेको बताएको छ । उनले टिकटक बनाउन खोज्दा मुढाबाट चिप्लीएर ज्यान गुमाएकी हुन् ।
आमाबुबा भान्सामा खाना पकाइरहेको अवस्थामा बालिकाले टिकटक बनाइरहेकी थिइन् । बालिका आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख भीमबहादुर दाहालले जानकारी दिए ।

‘सलको पासो बनाएर झुन्डिएको भिडियो फुटेज देखिन्छ, थप अनुसन्धान जारी छ’ एसपी दाहालले भने ।
मोबाइल धरिनमा राखेको अवस्थामा फेला परेको र घाँटीमा सलको पासो बनाएर बाईबाई गरेको भिडियो देखिएको प्रहरीले जनाएको छ । सलको पासो बनाएर झुन्डिएको भिडियो फुटेज देखिएको बताउँदै एसपी दाहालले भिडियो फुटेज अनुसन्धानकै क्रममा रहेकोले फोरेन्सिक ल्याबपछि मात्रै बताउन सकिने अवस्था रहेको बताए ।
पछिल्लो समय धेरै युवा युवतीहरुको रोजाइमा छ टिकटक अभिनयमा युवायुवतीहरूले नयाँ र फरक प्रयोग गर्न खोज्दा पछिल्लो समय घटना क्रम बढेका छन् । यसमा समयमै सबै सचेत हुन जरुरी छ ।
गत वैशाख २४ गते भीरमा पुगेर टिकटक बनाउने क्रममा उदयपुरमै धरानका एक युवाको मृत्यु समेत भइसकेको छ । कटारी नगरपालिका–११ हर्देनी भीरमाथि टिकटक बनाउने क्रममा लडेर धरानका १८ वर्षीय सुभास परियार मृत्यु भएको प्रहरीले जनाएको छ ।