धरानः धरानमा सबैको मन तान्ने बनेको सडकले लकडाउनमा पनि हैरानी दिइरहेको स्थानीयबासीले बताएका छन् । निषेधाज्ञा अर्थात् लकडाउनमै पनि युवायुवती त्यहाँ रम्न थालेपछि हैरान बनेको स्थानीयबासी बताउँछन् ।
निषेधाज्ञा अर्थात् लकडाउनको समयमा पनि युवायुवती सेल्फी हान्न र टिकटक बनाउन पुग्ने गरेको स्थानीयबासीले बताएका छन् । त्यहाँ अटेर गर्दै दिनहुँजसो युवायुवती पुग्ने गरेको स्थानीयबासी बताउँछन् । सडक बनेलगत्तै चिटिक्क बनेपछि सो सडक भाइरलजस्तै बनेको थियो । त्यहाँ सबैजना टिकटक बनाउन र फोटो खिच्न पुग्ने गरेका थिए । तर निषेधाज्ञापछि पनि त्यहाँ युवायुवती जाने क्रम नरोकिएको स्थानीयबासी बताउँछन् ।
कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन सरकारले घोषणा गरेको निषेधाज्ञा उल्लंघन गर्नेहरुलाई प्रहरीले सडकमै कारबाही गर्न थालेको जनाएको छ । बिनाकाम जुनसुकै बेला पनि घरबाट लखरलखर बाहिरिन थालेपछि त्यहाँ उठबस समेत गराइएको छ । (हे.भिडिओ) प्रहरीले सो सडकमा पुग्ने युवायुवतीलाई उठबस समेत गराएको हो ।
धरान-१४ का असई नारायण परियारका अनुसार निषेधाज्ञाअघि धेरैजना युवायुवती त्यहाँ पुग्ने गरेको बताउँछन् । ‘निषेधाज्ञाअघि धेरै युवायुवती त्यहाँ पुग्ने गरेको ठीकै हो तर निषेधाज्ञापछि पनि ३-४ जनाको समूहमा युवायुवती आइपुग्छन्, दिनहुँजसो त्यहाँ युवायुवती पुग्ने गरेका छन् तर हामीले देख्नेवित्तिकै सम्झाएर पठाउने गरेका छौं ।’ उनले उठबस भने नगराइएको दावी गरे । ‘हामीले उठबस गराएका होइनौं’, उनले भने । प्रहरीको छेऊमा बसेर उनीहरुले टिकटक बनाउनकै लागि त्यसो त गरेका होइनन् ? उनले उत्तर दिए- त्यो पनि थाहा भएन ।
धरान-१४ धार्मिक पर्यटकीय क्षेत्र विजयपुर जाने सडक सबैको रोजाइको सडक बनेको छ । यो सडक घुम्तीजस्तो छ । अलिकति सडक नागबेली पनि छ । त्यहाँबाट धरानका केही भाग पनि सहजै देखिन्छ । यो नागबेली परेको सडकले सामाजिक सञ्जालमा युवापुस्ताले फोटो खिचेर लगाउन थालेपछि चर्चा पाएको थियो ।
सुनसरी प्रशासनले जारी गरेको आदेशमा कसैले अध्यादेश बमोजिम कुनै काम गर्न बाधा अवरोध सिर्जना गर्न नहुने, गरेमा एक वर्षसम्म कैद वा पाँच लाख रुपैयासम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरिएको छ । यस्तै, अध्यादेश वमोजिम जारी भएको मापदण्डको पालना गर्नुपर्ने, पालना नगरेमा ६ महिनासम्म कैद वा तीन लाखसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।
सुनसरी प्रशासनले भने यस्तो आदेशसम्म जारी गरेको छ
यसैगरि, अध्यादेश वमोजिम दिइएको आदेश पालना गर्नुपर्ने, कुनै व्यक्तिले उल्लंघन गरेमा एक लाख रुपैयासम्म र कुनै संस्थाले उल्लंघन गरेमा पाँच लाख रुपैयासम्म प्रमुख जिल्ला अधिकारीबाट तत्काल जरिवाना हुनसक्ने व्यवस्था पनि अध्यादेशले गरेको छ ।
यस्तै, मास्क नलगाई सार्वजनिकस्थलमा आवतजावत गरेमा पटकैपिच्छे एक सय रुपैयाँ, मानिसको आवतजावत रोक लगाइएको वा नियन्त्रण गरिएको अवस्थामा उल्लंघन गरेमा पटकै पिच्छे २ सय रुयैयाँ, सवारीसाधन रोक लगाइएको अवस्थामा अनुमतिविना वा सुरक्षाकर्मीलाई सूचना नदिई वा बिरामी ओसारपसारबाहेक अवस्थामा सवारीसाधन चलाउनेलाई पटकैपिच्छे दुई पाङ्ग्रे भए २ हजार र अन्य सवारीसाधन भए ५ हजार रुपैयाँ तत्कालै सुरक्षाकर्मीले जरिवाना गर्न सक्ने व्यवस्था गरिएको छ ।

निषेधाज्ञाअघि लिइएको भिडिओ ।
