धरानः कोरोना संक्रमणबाट बच्नका लागि यसअघि बन्द भएको बैंक अब हप्तामा तीनदिन खुल्ने भएको छ ।
धरान उपमहानगरमा शनिबार बसेको बैठकले सो निर्णय गरेको हो । अब हप्तामा तीन दिन खुल्ने निर्णय भएको धरान उपमहानगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले जानकारी दिए ।
बैंकले सरकारले तोकेको स्वास्थ्यसम्बन्धी मापदण्ड अपनाएर हप्ताको कम्तीमा ३ दिन दिनको २ बजेसम्म सेवाग्राहीहरुलाई प्रत्यक्ष सेवा दिने भएका छन् । कुन बैंकले कुन दिन सेवा गर्ने भनेर आफैं निर्णय गर्नेछन् । यस्तै, अन्य वित्तीय संस्था (सहकारीलगायत) पनि खुल्ने भएका छन् ।
जिल्ला प्रशासनले सुनसरीले जेठ २२ गतेसम्म निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासनले लकडाउन अवधि थप गरेसँगै नयाँ व्यवस्था पनि गरेको छ । जिल्ला प्रशासनको निषेधाज्ञा आदेशमा सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थाको आत्यावश्यक सेवा स्थानीय तह नगरपालिका, उद्योग वाणिज्य संघसँग सल्लाह गरी सञ्चालनको व्यवस्था मिलाउने कुरा उल्लेख छ । उपमहानगरपालिका कार्यालयद्वारा जारी सूचनामा भनिएको छ ‘जिल्ला प्रशासन कार्यालयबाट जारी निषेधाज्ञाको परिपालन गरी नेपाल सरकारले तोकेको स्वास्थ्य सम्बन्धि सम्पूर्ण प्रोटोकलहरु पुरा गर्दै धरानमा रहेका सम्पूर्ण बैंक तथा वित्तिय संस्थाहरुले कम्तिमा हप्ताको तीन दिन दिनको २ बजेसम्म सेवाग्राहीलाई प्रत्यक्ष सेवा प्रवाह गर्ने व्यवस्था गर्न सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’

