Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

अब फुट्नेछ कोशीको ‘खुवालुङ ढुङ्गो’ !

हाम्रो कोशी आवाज
जेष्ठ १७ २०७८, सोमबार
अब फुट्नेछ कोशीको ‘खुवालुङ ढुङ्गो’ !

धरानः सरकारले गत शनिबार प्रस्तुत गरेको बजेटमा प्रदेश १ को ‘खुवालुङ ढुङ्गो’ फुटाउने घोषणा गरेसँगै फेरि चर्चामा आएको छ ।
घुमाइफिराइ ‘चुच्चे ढुङ्गो, उही टुङ्गो’ पारामै किरात संस्कृति जोडिएको ‘खुवालुङ ढुङ्गो’ फुटाउने कुरा गरेको नै देखिएको छ । बजेटमा कोशी नदीको चतरादेखि भोजपुरसम्म जल यातायात सञ्चालन गर्न जलमार्गमा रहेका अवरोध हटाइने भनिएको छ । ‘कोशी नदीको चतरादेखि भोजपुरसम्म जल–यातायात सञ्चालन गर्न रहेका अवरोध हटाइनेछ’ भन्ने वाक्यांशसहित आर्थिक वर्ष २०७८–७९ को बजेटले खुवालुङ फुटाउने घोषणा गरेको अभियन्ताहरुले बताएका छन् ।
यसैबीच जनता समाजवादी पार्टीको लिम्बुवान राष्ट्रिय समितिले एक प्रेस विज्ञप्ति जारी गर्दै खुवालुङ फुटाउने भन्दै भत्र्सना समेत गरेको छ ।
समाजवादी पार्टीका लिम्बुवान अध्यक्ष खगेन्द्र माखिम र मुख्यसचिव केदार धिमालले विज्ञप्ति जारी गर्दै खुवालुङ फुटाउने योजनालाई सरकारको नश्लवादी कदम भनेका छन् । ‘सप्तकोशीका अवरोध हटाउने भन्नु नै खुवालुङ फुटाउने भन्ने नै हो’, खगेन्द्र भन्छन्, ‘यस्ता कदमविरुद्ध डटेर लागौं ।’

विज्ञप्तिमा जोडदारका साथ भनिएको छ– सप्तकोशी नदीको चतरादेखि भोजपुरसम्म जल यातायात सञ्चालन गर्न जलमार्गमा रहेकोे अवरोध हटाउने नाममा ऐतिहासिकस्थल ‘खुवालुङ’ भत्काउने योजना घोषणा गरिएको छ । आदिवासीहरूको सांस्कृतिक स्थलहरू अतिक्रमण गर्न पल्किएको निरङ्कुश नश्लवादी ओली सरकार इतिहासकै आदिवासी जनजातिहरूको पहिचान र आत्मसम्मान माथि निर्मम प्रहार गर्ने सरकारको रूपमा रेकर्ड कायम गर्दै गएको छ । अब यस्ता हर्कतहरू रोकिनुपर्छ । कुनै हालतमा दोहोरिन र दोहोरयाउन दिनु हुन्नँ, दिइने छैन । एकल जातीवादी नश्लवादीहरूको अतिक्रमण र हस्तक्षेपकारी नीतिको विरुद्ध एकजुट होऔं ।
चैत्र पहिलो साता मुख्यमन्त्री शेरधन राई आफैं गएर खुवालुङलाई सांस्कृतिक पर्यटनस्थल बनाउने उदघोष गरेका थिए । अभियन्ता तथा स्थानीयको चरणबद्ध आन्दोलनपछि गत चैत्रमा सरकार खुवालुङ फुटाउने निर्णयबाट पछि हटेको थियो ।
२०७७ फागुन ७ गते विराटनगरमा आयोजना भएको कार्यक्रममा प्रधानमन्त्री केपी ओलीले सप्तकोशी नदीमा जेटबोट चलाउनेबारे लामो भाषण गरेका थिए । भाषणमा ओलीले जेटबोट चलाउन तगारो बन्न सक्ने सप्तकोशी माझको एउटा ढुंगो क्रेन लगाएर फुटाउने बताएका थिए ।

प्रधानमन्त्रीले भनेको सो ढुङ्गाको सांस्कृतिक नाम नै ‘खुवालुङ’ हो । यो ढुङ्गा अरुण, दुधकोशी र तमोर मिसिएको नदीको बीच भागमा गाडिएर बसेको छ । खुवालुङ कोशी चतरा पुलबाट पाँच किलोमिटर तथा चर्चित धार्मिकस्थल वराह क्षेत्रबाट एक किलोमिटर माथि पर्छ । करिब २० फिट चौडाइमा रहेको यो ढुंगामा ठूलो आकारको जेटबोट चलाउँदा ठोक्किने समस्या रहने भएकाले प्रधानमन्त्रीले नै यसलाई फुटाउने बताएका हुन् ।
तर किरात समुदायको सांस्कृतिकस्थल रहेकाले अभियन्ताहरुले जेटबोट चलाउन वैकल्पिक उपाय खोज्न दबाब दिँदै आएका छन् ।

मिति: २०७८ जेठ १६

प्रेस विज्ञप्ति

नेपाल सरकारले अध्यादेश मार्फत् सार्वजनिक गरेको आ.व. २०७८/७९ को वार्षिक योजना तथा बजेट वक्तव्य मार्फत् ता:प्लिजङ (ताप्लेजुङ) स्थित् “सुकेटार विमानस्थल”को नाम परिवर्तन गरी `स्व. रवीन्द्र अधिकारी´ विमानस्थल नामकरण गर्ने र  तेह्रथुम आठराई स्थित् “चुहानडाँडा विमानस्थल” को नाम `स्व.आङ्छिरिङ शेर्पा विमानस्थल´ नामकरण गर्ने भनी घोषणा गरेकोमा जसपा, नेपाल लिम्बुवान राष्ट्रिय समितिको गम्भीर ध्यानाकर्षण भएको छ ।
स्व. रविन्द्र अधिकारी र स्व.आङ्छिरिङको २०७५ साल फागुन १५ गते चुहानडाँडाहुँदै ता:प्लिजङ्को मुक्कुमलुङमा अनौपचारिक रूपमा घुम्न पुग्दा  हेलिकोप्टर दुर्घटनामा परेका थिए। यसरी कुनै दुर्घटनामा पर्नु याेगदान होइन, त्याे त दु:खद संयाेग मात्रै हाे । दुर्घटना पर्नेको नाममा विमानस्थलको नाम परिवर्तन गर्नु लोकलाई लज्जित तुल्याउने घोषणा हो ।
यो सत्ताको अतिक्रमणकारी विषाक्त मानसिकताको उपज हो । आन्तरिक उपनिवेशवादी विकृत सोच हो  ।
ता:प्लिजङ सुकेटार विमानस्थल निर्माणका लागि भूपू मन्त्री स्व. विष्णु मादेनको महत्त्वपूर्ण योगदान रहेको थियो । एयरपोर्टको लागि मादेन वंश लगायत स्थानीयले जग्गा उपलब्ध गराएका थिए ।
हजारौं ता:प्लिजङबासीले श्रमदान गरेका थिए ।
तर जग्गादाता र निर्माणमा सहयोग पुर्‍याउने मादेन लगायत आम जनताहरूले आफ्नो नाम खोजेनन् ।
विमानस्थल रहेको सुकेटारको पुरानो नाम आदिवासी याक्थुङ् भाषामा हावा लाग्ने डाँडा “सु:क्के तेल्लक्” हो ।
पञ्चायत कालमा विमानस्थल बनाउँदा “सु:क्के तेल्लक्”लाई खस भाषाकरण गरी `सुकेटार´ बनाइएको थियो । त्यो डाँडामा अधिक बतास चल्ने भएकोले याक्थुङ् (लिम्बू) भाषामा “सारिक् सुरिःत् केस्सुःक्पा> सुरिःत् सुःक्>सु:क्या>सु:के हुँदै `सुरिःत् केस्सुःक्पा तेन्, तेल्लक्” भनियो । `तेल्लक्´ भनेको टार वा दमदमे मैदान हो । साह्रै बतास चल्ने/लाग्ने ठाउँ भएकोले `सुके तेल्लक्´ भन्दा भन्दै खस भाषाकरण भई सुकेटार भएको हो ।
आदिवासी पुराना रैथाने स्थाननाम परिवर्तन गर्ने र अपभ्रंश तुल्याउने र अतिक्रमण गर्ने यो पहिलो घट्ना भने होइन । सुकेटार विमानस्थलदेखि नजिकै “मुक्कुमलुङ्लाई” अतिक्रमण गरी `पाथीभरा´ बनाइएको छ ।
झापाको “आदिवासी रङ्गशाला”को नाम परिवर्तन गरी `मदन भण्डारी रङ्गशाला´ नाम दिएर आयोजना अन्यत्रै स्थानान्तर गर्ने काम भइरहेको छ ।
सप्तकोशी नदीको चतरादेखि भोजपुरसम्म जल यातायात सञ्चालन गर्न जलमार्गमा रहेकोे अवरोध हटाउने नाममा ऐतिहासिक स्थल “खुवालुङ्” भत्काउने योजना घोषणा गरिएको छ ।
यी त प्रतिनिधि घट्ना मात्र हुन् । यस्ता त देशभरि हजारौं छन् ।
आदिवासीहरूको सांस्कृतिक स्थलहरू अतिक्रमण गर्न पल्किएको निरङ्कुश नश्लवादी ओली सरकार इतिहासकै आदिवासी जनजातिहरूको पहिचान र  आत्मसम्मान माथि निर्मम प्रहार गर्ने सरकारको रूपमा रेकर्ड कायम गर्दै गएको छ ।  आदिवासीहरूका लागि विश्वभर फैलिएको कोरोना भाइरसको दोस्रो भेरिएन्टभन्दा खतरनाक भाइरस ओली सरकार हो ।
गोरखाली खसहिन्दू राज्य विस्तार अभियानसँगै प्रारम्भ भएको औपनिवेशीकरण प्रक्रिया एकतन्त्रीय राणाशासन र निरङ्कुश राजतन्त्रकालमा मात्र नभएर प्रजातन्त्र र संघीय लोकतान्त्रिक गणतन्त्रकालसम्म पनि कायम रहनु अति आश्चार्यको कुरा हो । अब यस्ता हर्कतहरू रोकिनुपर्छ । कुनै हालतमा दोहोरिन र दोहोर्‍याउन दिनु हुन्न, दिइने छैन ।
स्व. रवीन्द्र अधिकारी विमानस्थल नामकरण गर्ने र  तेह्रथुम आठराई स्थित् चुहानडाँडा विमानस्थलको नाम स्व.आङछिरिङ शेर्पा विमानस्थल नामकरण
गर्ने दुस्साहस गर्नु अनुचित छ, यो कदम घोर निन्दनीय छ । यसले आम जनताको पहिचान र आत्मसम्मानकाे भावनामा ठेस पुर्‍याएको छ । यो घोषणा असल नियतले आएको छैन । स्थानीय जनताको भावना र मर्मप्रति गम्भीर चोट पुर्‍याएको छ । यसले नयाँ द्वन्द्वको विजारोपण गरेको छ । यसको घोर विरोध र भत्सर्ना गर्दछौं ।
अत: यो काम चलाउ सरकारको सो कदम तुरुन्त सच्याइयोस् र पुरानो मौलिक ऐतिहासिक नाम कायम गरियोस् भन्ने जोड्दार माग गर्दछौं ।
एकल जातीवादी नश्लवादीहरूको अतिक्रमण र हस्तक्षेपकारी नीतिको विरुद्ध एकजुट होऔं।
लिम्बुवान जिउँदो भुमी हो, जिस्काउने प्रयास नगर ।
# सेभ् सु:क्केटार    # सेभ् मुक्कुमलुङ्
# सेभ् खुवालुङ्    #सेभ् आदिवासी रङ्गशाला
जय लिम्बुवान । संघीय अभिवादन ।
खगेन्द्र माखिम
अध्यक्ष
केदार धिमाल
मुख्यसचीव

प्रकाशित मिति: जेष्ठ १७ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend