ताप्लेजुङः ताप्लेजुङको सुकेटार विमानस्थलको नाम परिवर्तन विषयमा ताप्लेजुङका सात राजनीतिक दलले निर्णय सच्याउन माग गर्दै सोमबार जिल्ला प्रशासन कार्यालमार्फत सरकारलाई ज्ञापनपत्र पठाएका छन् ।
शनिबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलद्वारा प्रस्तुत आगामी आर्थिक वर्ष २०७८–७९ को बजेट वक्तब्यमार्फत सुकेटार विमानस्थललाई रवीन्द्र अधिकारी विमानस्थल नामाकरण गरिएको छ । सुकेटार विमानस्थल इतिहासदेखि स्थापित नाम भएको र ताप्लेजुङबासीको गौरवकै रुपमा रहेको पर्यटकीयस्थल भन्दै नाम परिवर्तन गर्ने सरकारको निर्णय तत्काल सच्याउन माग गर्दै राजनीतिक दलले प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएका हुन् ।
ज्ञापनपत्र बुझाउनेमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, सङ्घीय लिम्बुवान मञ्च नेपाल, राष्ट्रिय जनमुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी रहेका छन् । आइतबार नै जिल्लास्थित सात राजनीतिक दलले सर्वदलीय बैठक बसी सुकेटार विमानस्थलको नाम परिवर्तन गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाउँदै सरकारलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेका थियो ।
सात राजनीतिक दलले सुकेटार विमानस्थललाई रवीन्द्र अधिकारी विमानस्थल नामाकरण गर्ने सरकारको निर्णय तत्काल नसच्याए जिल्लाबासीले सशक्त प्रतिरोध गर्ने पनि ज्ञापनपत्रमार्फत चेतावनी दिएका छन् ।
ज्ञापनपत्र एमालेका जिल्ला अध्यक्ष बलबहादुर साम्सोहाङ, माओवादी केन्द्रका जिल्ला अध्यक्ष विजयप्रकाश वनेम लगायत सात दलका जिल्ला नेतृत्व तथा प्रतिनिधिले प्रमुख जिल्ला अधिकारीलाई बुझाएका हुन् । यतिबेला सुकेटार विमानस्थलको नाम परिवर्तन गर्ने सरकारी निर्णय सार्वजनिक हुने बित्तिकै राजनीतिक दलसम्बद्ध युवा, विद्यार्थी संगठनहरु, अन्य सामाजिक संस्थाहरु र जिल्लाबासी नागरिक समेतबाट चौतर्फी विरोध हुँदै आएको छ ।
निवर्तमान प्रतिनिधि सभा सदस्य तथा नेकपा एमाले पार्टीका नेता योगेश भट्टराईले सामाजिक सञ्जालमा भनेका छन्, ‘ऐतिहासिक रुपमा कुनै नाम वा विशेषताबाट चिनिएका स्थानहरुको परिचय बदल्नुभन्दा अघि त्यसको आवश्यकता, औचित्यता, सान्दर्भिकता र परिणामका बारेमा स्थानीय सरोकारवाला समूह, जनप्रतिनिधिसहित नागरिक स्तरमा ब्यापक छलफल र विमर्श गरी सहमति निर्माण गर्नुपर्दछ । यसरीमात्र सहभागितामूलक लोकतन्त्र बलियो हुनसक्छ । असल काम पनि असल नियत र सही प्रक्रियाबाट गरियो भनेमात्र सहि परिणाममा पुग्न सकिन्छ । अन्यथा विवाद, विभाजन र अनावश्यक तनावमात्र झेल्नुपर्दछ,।’
ऐतिहासिक रुपमा कुनै नाम वा विशेषताबाट चिनिएका स्थानहरुको परिचय बदल्नुभन्दा अघि त्यसको आवश्यकता, औचित्यता, सान्दर्भिकता र परिणामका बारेमा स्थानीय सरोकारवाला समूह छलफल गरेर नयाँ निर्माण हुन लागेको विमान स्थालहरुमा रविन्द्र अधिकारीका स्मृतिको रुपमा विकास गर्ने सकिने भट्टराईको आशय रहेको छ ।
‘सरकार पोखरा विमानस्थलको नामाकरण रविन्द्र अधिकारी विमानस्थल राखौं हामीलाई सुकेटार विमानस्थलमै गर्व छ ।’ निवर्तमान पत्रकार महासंघ ताप्लेजुङका अध्यक्ष राजेन्द्र श्रेष्ठले आफ्नो धारणा सामाजिक सञ्जालमा व्यक्त गरेका छन् ।
सुकेटार विमानस्थललाई स्व. रविन्द्र अधिकारी विमानस्थल र चुहानडाँडालाई आङछिरिङ शेर्पा विमानस्थल नामाकरण गरेर इतिहास, संस्कृति, पहिचान र भावनात्मक मनोविज्ञानमाथि राज्यबाट हस्तक्षेप भएको भन्दै नेकपा माओवादी केन्द्र १ नम्बर प्रदेशसभाका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले टिप्पणी गरेका छन् ।
२०७५ साल फागुन १५ गते ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनाग्रस्त भई तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उडयनमन्त्री रवीन्द्रप्रसाद अधिकारी, नेपाल नागरिक उययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, नेपाल नागरिक उययन प्राधिकरणका निर्देशक दुव भोछिभोया, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, पाइलट क्याप्टेन प्रभाकर केसी, यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा र नेपाली सेनाका जमदार अर्जुनकुमार घिमिरेको निधन भएको थियो ।
