धरानः सरकारले बजेट मार्फत् उद्यमी हुन चाहने युवा वर्गका लागि सहुलियतदरमा कर्जा योजना ल्याउने घोषणा गरिसकेको छ ।
आर्थिक वर्ष २०७८–७९ को बजेट वक्तव्यमा अर्थमन्त्री विष्णु पौडेलले बैंकिङ क्षेत्रमार्फत् विभिन्न क्षेत्रका तथा वेरोजगार युवा वर्ग लक्षित सहुलियतदरका कर्जा कार्यक्रम ल्याउने घोषणा गरेका हुन् । बिनाधितो १ देखि ५ प्रतिशत ब्याजदरमा कर्जा प्रवाह गर्नका लागि बजेटमा २० अर्ब ८५ करोड रुपैयाँ नै बजेटमा बिनियोजन गरिएको छ ।
सहुलियत ब्याजदर बाहेक पनि सरकारले विभिन्न क्षेत्रका युवा लक्षित कर्जा योजना ल्याएर ब्याज–प्रिमियममा अनुदानदेखि बीमा प्रिमियममा समेत अनुदान दिने घोषणा गरेको छ । सरकारले बजेटमार्फत् घोषणा गरेको बैंकिङ क्षेत्रसँग सम्बद्ध सहुलियत कर्जाका योजनामा शैक्षिक प्रमाणपत्र धितोमा २५ लाख रुपैयाँसम्म कर्जा र युवा उद्यमीलाई परियोजना धितोमा २५ लाख रुपैयाँसम्म कर्जा हुन् ।
साथै, यस बाहेकका पत्रकार, खेलाडी द्वन्द्वपीडित, विद्यार्थी, कृषकलाई सहुलियतदरमा दिइने भनिएका विभिन्न शीर्षकका कर्जा हुन् । जुन सरकारले कार्यविधि बनाएर राष्ट्र बैंकमार्फत् बैंक तथा वित्तीय संस्थाहरुमा लागू गराएपछि लक्षित वर्गले कर्जा उपयोग गर्न पाउछन् ।
यसका लागि आवश्यक कार्यविधि निर्माण तयारी शुरु भइसकेको अर्थमन्त्रालय वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्यव महाशाखाका प्रमुख दीर्घराज मैनालीले बताए ।
‘यसअघि नै सहुलियपूर्ण कर्जाको कार्यविधि कार्यान्वयनमै छ, सोही कार्याविधिमा थप भएका क्षेत्रलाई समेटेर संशोधन गरेर थप साउन १ गतेबाटै कार्यन्वयनमा आउँछ,’ उनले भने, ‘कार्यान्वयनको पाटो भनेको पुरानै मोडलमा राष्ट्र बैंकमार्फत् बैंक तथा वित्तीय संस्थाबाट हुन्छ तर यसको नयाँ कार्यविधि भने राष्ट्र बैंकसँग सल्लाह सुझावमा असारभन्दा पहिले नै तयार गरी नयाँ आर्थिक वर्षबाट कार्यान्यवन हुन्छ ।’
‘यसअघि १० लाख रुपैयाँभन्दा माथिको कृषि कर्जामा धितो लिने व्यवस्था छ, अहिले २५ लाख रुपैयाँसम्म कर्जाको सीमा तोकिएको छ,’ उनले थपे, ‘कर्जाको सीमा बढी भएको हुँदा निश्चित रकमभन्दा माथि धितो लिन पाउने व्यवस्था पनि हुनसक्छ तर अहिले बजेटमा आएका कर्जा योजना भनेका सबै बिना धितो प्रवाह गर्ने उद्देश्यका नै हुन् ।’
बजेटमा परेका बैंकिङ क्षेत्रसँग सम्बन्धित १० बुँदे सहुलियत कर्जा कार्यक्रमहरु :
१) सार्वजनिक विद्यालय तथा क्याम्पसका उच्च माध्यमिक र सो भन्दा माथिल्लो तहमा अध्ययनरत विद्यार्थीलाई वैकल्पिक सिकाइमा सहयोग पुर्याउने उद्देश्यका साथ एकथान ल्यापटप खरिद गर्न ८० हजार रुपैयाँसम्म दुईवर्ष अवधिको एक प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउने व्यवस्था मिलाइएको छ ।
२) लघु, साना तथा मझौला उद्योग, व्यावसायिक कृषि, युवा उद्यम, महिला उद्यम तथा वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरूका लागि प्रदान गरिने सहुलियतपूर्ण कर्जाको सीमा र क्षेत्र बिस्तार गरिनेछ । यसका लागि पाँच प्रतिशत ब्याज अनुदान दिन १३ अर्ब रुपैयाँ विनियोजन गरिएको छ ।
३) युवा उद्यमीलाई स्टार्टअप व्यवसायमा संलग्न हुन उत्प्रेरित गर्ने उद्देश्यले परियोजना धितो राखी एक प्रतिशत व्याजदरमा २५ लाख रुपैयाँसम्म बीउ पुँजी कर्जा उपलब्ध गराइनेछ ।
४) स्नातक वा सोभन्दा माथि शैक्षिक योग्यता हासिल गरेका युवालाई आफूले प्राप्त गरेको शैक्षिक प्रमाणपत्र धितो राखी अधिकतम पाँच प्रतिशत ब्याजदरमा २५ लाख रुपैयाँसम्म सहुलियतपूर्ण कर्जा उपलव्ध गराइनेछ ।
५) कृषिमा आधारित उद्यम तथा मूल्य श्रृंखला विकासका लागि सहुलियतपूर्ण कर्जा प्रवाह गर्न ७ अर्ब ६० करोड रुपैयाँ छुट्याइएको छ ।
६) सहकारी संघ संस्थालाई कृषि तथा पशुपन्छीजन्य उत्पादनको प्रशोधन गरी मूल्यश्रृंखला विकास गर्न सहुलियतपूर्ण कर्जा दिने व्यवस्था गरिएको छ ।
७) युवा तथा साना व्यवसायी स्वरोजगार कोषमार्फत् प्राविधिक र व्यावसायिक सीपसहित कर्जा सुविधा उपलब्ध गराई आगामी वर्ष थप १२ हजार युवालाई स्वरोजगार बनाइनेछ । युवा तथा साना व्यवसायीलाई युवा स्वरोजगार कोषबाट प्रवाह गरिएको कर्जाको सुरक्षण प्रिमियमको ५० प्रतिशत अनुदान दिने व्यवस्था मिलाइएको छ ।
८) सक्रिय खेल जीवनबाट निवृत्त खेलाडीलाई व्यवसाय सञ्चालन गर्न सहुलियतदरको कर्जा उपलव्ध गराउने व्यवस्था मिलाइएको छ ।
९) कोभिड–१९ बाट प्रभावित भई रोजगारी गुमाएका पत्रकारलाई लेखनवृत्ति र सञ्चारगृहलाई पुनरकर्जा तथा व्यावसायिक निरन्तरता कर्जा सुविधा दिइनेछ ।
१०) सशस्त्र द्वन्द्वबाट प्रभावित व्यक्तिलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराई स्वरोजगार बन्न प्रेरित गरिनेछ ।
