धरानः धरान उपमहानगरपालिकाका लागि ८६ करोड ७७ लाख रुपैयाँ सङ्घीय बजेट परेको छ ।
धरान उपमहानगरपालिकाका वरिष्ठ लेखा अधिकृत भेषराज अधिकारीका अनुसार यसपटकको बजेट अघिल्लो वर्षको भन्दा धेरै हो । उनका अनुसार धरान उपमहानगरले समानिकरणअन्तर्गत ३३ करोड ९२ लाख, ससशर्त अनुदानअन्तर्गत ४६ करोड ४० लाख, विशेष अनुदानअन्तर्गत २ करोड ९९ लाख रुपैयाँ पाएको हो । सुनसरीमै धरान उपमहानगरपालिकाले धेरै बजेट पाएको छ ।
सरकारले गत शनिबार नयाँ आर्थिक वर्ष २०७८-०७९ अन्तर्गत समग्र सुनसरी जिल्लाभरमा उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामध्ये धरान उपमहानगरपालिकाले सबैभन्दा बढी बजेट प्राप्त गरेको छ । सुनसरीमा जम्मा १२ वटा स्थानीय छन् । २ उपमहानगर, ४ नगरपालिका र ६ वटा नगरपालिकामध्ये धरानको लागि बढी बजेट छुट्याइएको हो । सुनसरी जिल्लाभरको लागि ५ अर्ब, ५८ करोड ६६ लाख रुपैयाँ बजेट छुट्टिइँदा धरानले यतिको बजेट पाएको हो ।
सुनसरीमा रहेका २ वटा उपमहानगरमध्ये धरान उपमहानगरपालिकाले इटहरीको तुलनामा ४ करोड ३४ लाख बढी बजेट पाएको हो । इटहरी उपमहानगरपालिकाले ८२ करोड ४३ लाख रुपैयाँ बजेट पाएको छ ।
यस्तै नगरपालिकाअन्तर्गत इनरुवा नगरपालिकाले ४६ करोड ३९ लाख, दुहवी नगरपालिकाले ४३ करोड ३० लाख, बराहक्षेत्र नगरपालिकाले ६२ करोड ५६ लाख, रामधुनी नगरपालिकाले ४२ करोड ८४ लाख रुपैयाँ पाएको छ ।
यस्तै, सुनसरीकै गाउँपालिकाअन्तर्गत कोशी गाउँपालिकाले ३२ करोड, ७८ लाख, गढी गाउँपालिकाले २९ करोड ९४ लाख, देवानगञ्ज गाउँपालिकाले ३१ करोड ९४ लाख, बर्जु गाउँपालिकाले २९ करोड ८७ लाख, भोक्राहा नरसिंह गाउँपालिकाले ३१ करोड १९ लाख र हरिनगरा गाउँपालिकाले ३७ करोड ६५ लाख रुपैयाँ बजेट पाएको छ ।
यसैगरी बजेटमा अर्थमन्त्री विष्णु पौडेलद्वारा प्रस्तुत बजेटमा धरान–धनकुटा सडक खण्ड अन्तर्गत धरान–लेउती सुरुङ मार्ग निर्माण कार्य सुरु गरिने भएको छ । धरान–इटहरीलाई मेघासिटीमा विकास गरिने घोषणा गरिएको छ ।
प्रदेश नं. १ मा कसको कति बजेट ?
प्रदेश नं. १ को लागि १६ अर्ब, २९ करोड ३६ लाख बजेट छुट्टिएकोमा प्रदेश १ मै सबैभन्दा धेरै बजेट विराटनगर महानगरपालिकाले पाएको छ । विराटनगर महानगरपालिकाले १ अर्ब, १९ करोड ५३ लाख रुपैयाँ बजेट पाएको छ ।
झापाले ७ अर्ब १८ करोड ४४ लाख रुपैयाँ बजेट परेको छ । यो प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला पनि हो । यस्तै, मोरङले ७ अर्ब ९१ करोड ५६ लाख रुपैयाँ बजेट प्राप्त गरेको छ ।
यस्तै, ताप्लेजुङले २ अर्ब ९३ करोड १७ लाख, पाँचथरले ३ अर्ब १० करोड, इलामले ३ अर्ब ९५ करोड ३४ करोड, संखुवासभाले ३ अर्ब, ३ करोड १२ लाख, तेह्रथुमले १ अर्ब ९० करोड २७ लाख, धनकुटाले २ अर्ब ५८ करोड ५३ लाख, भोजपुरले २ अर्ब ९८ करोड १४ लाख रुपैयाँ पाएको छ ।
यस्तै, प्रदेश १ कै खोटाङले ३ अर्ब ५७ करोड ६४ लाख, सोलुखुम्बुले २ अर्ब २८ करोड २३ लाख, ओखलढुंगाले २ अर्ब ६४ करोड ८७ लाख, उदयपुरले ३ अर्ब ५८ करोड ४९ लाख रुपैयाँ बजेट पाएको छ ।
