धरानः बजेटमार्फत् ‘खुलालुङ ढुङ्गो’ फुटाउन लागेको भन्दै आदिवासी जनजाति महासंघले विरोध जनाएको छ ।
अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको २०७८-७९ को बजेट वक्तव्यक्तमा ‘कोशी नदीको चतरादेखि भोजपुरसम्म जल–यातायात सञ्चालन गर्न रहेका अवरोध हटाइनेछ’ भन्ने वाक्यांश राखिएको छ । बजेटले खुवालुङ फुटाउने घोषणा गरेको अभियन्ताहरुले बताउँदै विरोध शुरु गरेका छन् ।
नेपाल आदिवासी जनजाति महासङघ प्रदेश नम्बर १ मा रहेका १४ वटा जिल्ला महासंघ समन्वय परिषदले विज्ञप्ति जारी गर्दै खुवालुङ नफुटाउन माग गरेका छन् ।
१४ जिल्ला महासंघले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै यो देशको भूमिपुत्र आदिवासी जनजाति समुदायको ऐतिहासिक धरोहर मास्ने कार्य मान्य नहुने जनाइएको छ ।
‘उदयपुर, धनकुटा, भोजपुर र सुनसरीको संगमस्थल त्रिवेणीमा अवस्थित आदिवासी किरातीहरुको आस्था एवं मुन्धुमी शक्ति केन्द्र, ऐतिहासिक सांस्कृतिक धरोहर खुवालुङलाई किन नष्ट गर्न खोजिँदैछ ?’ विज्ञप्तिमा भनिएको छ, ‘यसको संरक्षण, सम्वद्र्धन गर्ने दायित्व राज्यको हो, तसर्थ, यो देशको विविधतालाई बेवास्ता गर्दै आदिवासी जनजाति समुदायको इतिहास मेटाउने, धार्मिक एवं सांस्कृतिक आस्थामाथि प्रहार गर्ने र समग्र समुदायको अस्तित्व समाप्त पार्ने कदमको भण्डाफोर र घोर विरोध गर्दछौं ।’
विज्ञप्तिमा ताप्लेजुङको सुकेटार र तेह्रथुमको चुहानडाँडा विमानस्थलको नाम फेर्न नहुने समेत जनाइएको छ ।

