धरानः विकृति, विसङ्गति, भ्रष्टाचारलगायत चिर्न भन्दै बनेको ‘धरान नागरिक दबाव सञ्जाल’ धरानको साख फर्काउन लाग्ने भएको छ ।
दबाव सञ्जाल बनेपछि आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य, शिक्षा, खानेपानी, पर्यटन, स्थानीय प्रशासन, सरकारी कार्यालय, अन्य क्षेत्रहरुमा सबै विकृति, विसङ्गकिो सुक्ष्म अध्ययन गरी तिनको निराकरण गर्ने र जनमुखी, सेवामुखी बनाउन जोड दिने र गिर्दै गएको धरानको साखलाई फर्काउन नागरिक सञ्जाल जोडदाररुपमा लाग्ने जनाइएको छ ।
पत्रकार सम्मेलनमा तत्कालको जटिल समस्या बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान नै रहेको जानकारी दिइयो । सेवाहरु चुस्तदुरुस्त हुनुको सट्टा झन झन विकृत हुँदै गइरहेको सञ्जालले निष्कर्ष निकालेको छ ।
‘पहिलो कुरा त हामी समग्र धरानको साख फर्काउन चाहन्छौं, शिक्षा, स्वास्थ्य, खानेपानीलगायत धरानका जल्दोबल्दो समस्याको विषय उठान गर्दै समाधान गर्दै धरानबासीलाई चुस्तदुरुस्त सेवा दिन दबाव दिइरहन्छौं’, उनले भने ।
उनले तत्कालको जटिल समस्या बीपी प्रतिष्ठान नै रहेको बताए । ‘जनताको गुनासो छ- पैसाको चलखेल, नेतृत्वबीचको टकराव, सेवा चुस्तदुरुस्त छैन, कमिसनको कारणले मेसिन गुणस्तरहीन खरिद गरिन्छन्, प्रतिष्ठानको साख गिराएर अन्य अस्पताललाई अग्ल्याउने काम भइरहेको छ, त्यसको लागि हामी लागिरहेका हौं, लागिरहन्छौं ।’ उनले अहिले प्रतिष्ठानमा कोभिडका बिरामीले सही उपचार नपाउँदा, धरानेलाई भर्ना लिन नमान्दा समस्या भएको बताए । उनले धरानबासीमा मृत्यु हुनसक्ने त्रासयुक्त आक्रोश बढी रहेको बताए ।

सञ्जालका संयोजक प्रा.डा. राजेन्द्र शर्माले सञ्जालप्रति शंका गर्ने ठाउँ रहेको बताउँदै त्यसलाई चिरेर अघि बढ्ने बताए । उनले धरानको स्थानीय सरकार, राजनीतिक दल, नागरिक समाज साथै धरानबासीको एकमत, धरानबासी एकसाथ रहेकोले काम गर्न सहज हुने धारणा राखे ।
उनले तीन चरणको कार्यक्रम रहेको जानकारी दिए । ‘हामी पहिलो चरणमा पहिलोपटक संवादमा जानेछौं, दोस्रोचरण अनुसन्धान, अनुगमन हुनेछ र तेस्रोचरणमा कारवाहीमा पनि जानेछौं’, उनले थपे, ‘हामी अहिलेसम्म वैधानिक कारवाहीको बारेमा मात्रै सोचिरहेका छौं, त्यस्ता विकृति र विसंगतिको सप्रमाण कारवाहीको लागि कठघरामा उभ्याउनेछौं, हदैसम्मको बेवास्ता भइरहे आन्दोलनको माग बमोजिम हुनेछ ।
प्राध्यापक हरि दाहालले धरानको साख जोगाउन जस्तोसुकै कदम चाल्न पनि पछि नहट्ने जानकारी दिए । उनले धरानको समग्र ख्याति पुनरुत्थान साथै बीपी प्रतिष्ठानमा देखिएको विकृति, विसङ्गति र भ्रष्टाचारलाई चिर्न यो सञ्जाल सधैं सक्रिय रहने जनाए । ‘हामी अहिलेसम्म चुप लागेर बस्यौं’, उनले भने, ‘अब जस्तोसुकै आन्दोलन गर्नुपरेपनि अथवा कारवाहीका लागि जानुपरेपनि पछि हट्दैनौं ।’

प्रा.डा. शर्माको संयोजकत्वमा केहीदिनअघि ‘धरान नागरिक दबाव सञ्जाल’ बनेको छ । दबाव सञ्जालको सदस्य सचिवमा डा. कमल तिगेला, सदस्यहरुमा नागरिक समाजका मनोजकुमार मेन्याङ्बो, प्राध्यापक हरिप्रसाद दाहाल, सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गिरीधारी सापकोटा, प्राध्यापक आनन्द आचार्य, अग्रज पत्रकार हर्ष सुब्बा, भवानी बराल, गौरीशंकर अग्रवाल, नरप्रसाद लुङफुङवा, चेतना श्रेङ, शिखा चेम्जोङ, हिरा उदास, राजविमल श्रेष्ठ, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष केशव घिघिरे, नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राई, आदिवासी जनजाति महासंघका अध्यक्ष सुवास हुक्पाचोङवाङ रहेका छन् । दबाव सञ्जालले विशुद्ध राजनीतिक हिसाबले काम गर्ने र दलहरुले साथ दिने जनाइएको छ ।
यस्तै, विभिन्न सामाजिक संघसंस्था, प्रतिष्ठित व्यक्तित्व, समाजसेवी, नागरिक अभियन्ता, बुद्धिजीवीहरु सम्मिलित सदस्यहरु थप गर्दै जाने जनाइएको छ ।
प्रतिष्ठानमा अहिले कोभिड अस्पतालको हालत लथालिङ्ग, इमरजेन्सी, आइसियु, अक्सिजनलगायतका सेवामा लापरवाही हुँदै गएपछि यो सञ्जाल अघि बढेको हो । प्रतिष्ठानमा कोरोनाका बिरामीले सहज भर्ना हुन नसकेको, १०० बेडको अस्पतालको व्यवस्था गर्ने भनिएपनि ७७ बेड मात्र नभएको अवस्था, बिरामी पुगिहालेपनि लामो समय नहेर्ने, कुर्दाकुर्दै जीवन जाने अवस्था, बाहिर विराटनगर वा बिर्तामोड पुग्नुपर्ने, मेसिनहरु कहिल्यै चुस्तदुरुस्त नहुने, अक्सिजन ग्यासको अभाव, भेन्टिलेटरको अभाव, आइसियुको दुरास्वस्था र चरम लापरवाही देखिएको सञ्जालले जनाएको छ । व्यवस्थापनको चरम लापरवाहीको जनगुनासो आएको सञ्जालले जनाएको छ । उपचार सेवा र सुविधा दिनुपर्ने यस्तो संस्था आफैं भ्रष्टाचार, अनियमिता र अर्बौको बेरुजुको शिकार रहेको र भ्रष्टाचार, कमिसन, दलाली र विचौलियाको दबदबाले संस्था रुग्न बन्दै गएको सञ्जालको ठहर छ । ‘त्यसले हाम्रो अभियान बीपी प्रतिष्ठानबाटै गरेका हौं ।’ सञ्जालका डा. कमल तिगेलाले भने । तस्वीरः तिर्थ कार्की
