धरानः राजस्व अनुसन्धान विभागले झण्डै रु १६ करोड विगो बराबरको राजस्व छली गर्ने १० जनाविरुद्ध मुद्दा चलाएको छ । उनीहरुले भन्सार छली एवं झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि करको बिजक प्रयोग गरी राजस्व चुहावट गरेको तथ्यको आधारमा उच्च अदालतमा मुद्दा दर्ता गरिएको विभागले जनाएको छ ।
झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि करको विजक सुनसरीको धरान उपमहानगरपलिका–१२ बस्ने ग्लोवल इम्पेक्स इन्टरनेशनलका प्रोपाइटर किसनकुमार अग्रवालले रु चार करोड ४२ लाख विगो बराबरको राजस्व छली गरेको विभागको अभियोग छ । सो बिगो असुल गरी जरिवाना र कैद सजायको माग लिई उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको विभागले आज एक सूचना जारी गरी जनाएको छ ।
उनले मालवस्तु स्थानीय खरिद तथा आयात नगरी, झुट्टा खरिद देखाई विभिन्न फर्मलाई बिक्री बीजक जारी गरी सो फर्मबाट बिक्री रकम भुक्तानी लिई सो बीजकमार्फत असुल गरेको मूल्य अभिवृद्धि कर रकम सरकारी कोषमा दाखिला नगरेको पाइएको छ । साथै उनले विभिन्न फर्मलाई नक्कली एवं झुट्टा बीजक उपलब्ध गराई जालसाजीसमेत गरेको आरोप लगाइएको छ ।
धरान-१२ कै १२ का रामनिवास अग्रवाललाई ४ करोड ५२ लाख ४२ हजार ७५३ रुपैयाँ विगो सहित विभागले आइतबार मुद्दा दायर गरेको छ । अग्रवालले एसएन इन्टरनेशनलको नक्कली विजक काटी राज्यलाई मूल्य अभिवृद्धि तर्फ १ करोड ३४ लाख ४२ हजार ७२८ रुपैयाँ र आयकर तर्फ ३ करोड १८ लाख रुपैयाँ ठगी गरेकोले मुद्दा दायर गरेको विभागल जनाएको छ । अग्रवालमाथि मालवस्तु खरिद तथा आयात नगरी, झुट्टा खरिद देखाई विभिन्न फर्मलाई बिक्री बीजक जारी गरी सो फर्मबाट बिक्री रकम भुक्तानी लिई सो बीजकमार्फत असुल गरेको मूल्य अभिवृद्धि कर रकम सरकारी कोषमा दाखिला नगरेको आरोप छ ।
उता रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–६ का श्यामकुमार वानियासमेत दुई जनामाथि रु पाँच करोड ५० लाख राजस्व चुहावट गरेको आरोप छ । उनीहरुले विदेशी मुलुकबाट नेपालमा पैठारी हुने मालवस्तुको भन्सार जाँचपास नगराई राजस्व चुहावट गरेका थिए ।
विभागका अनुसार पर्साको वीरगञ्जस्थित भुसा सप्लायर्सका सञ्चालक दिपेन्द्रप्रसाद कलवारसहित ४ जनाले रु एक करोड विगो बराबरको भन्सार चोरी पैठारी गरी राजस्व चुहावट गरेका छन् । उनीहरु विरुद्ध उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जमा मुद्दा दायर गरिएको छ ।
विल विजक नै जारी नगरी आयकर छली गर्ने भारत स्थायी वतन भई हाल काठमाण्डौ–१४ कुलेश्वर बस्ने सत्यनारायण प्रसादले पनि झण्डै रु १ करोड राजस्व छली गरेका छन् । यस्तै रौतहत वृन्दावन नगरपालिका–६ बस्ने अमनकुमार तिवारीले भन्सार चोरी गरी रु ४० लाख राजस्व चुहावट गरेको विभागले जारी गरेको सूचनामा जनाइएको छ । आरोपी विरुद्ध नजिकका उच्च आदालतमा मुद्दा चलाइएको विभागले जनाएको छ ।
