Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

अब वर्षमा पाँचपल्ट बढी कारबाहीमा परे लाइसेन्स नपाइने

हाम्रो कोशी आवाज
जेष्ठ २८ २०७८, शुक्रबार
अब वर्षमा पाँचपल्ट बढी कारबाहीमा परे लाइसेन्स नपाइने

धरानः सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को ट्रायल पास गर्ने चालकहरुलाई प्रोभिजनल (अस्थायी) लाइसेन्स दिने भएको छ ।
यातायात व्यवस्था विभागले आगामी साउन १ बाट ट्रायल पास गर्ने चालकहरुलाई एक वर्षका लागि प्रोभिजनल लाइसेन्स दिने तयारी गरेको हो ।
‘ट्रायल पास गरेर लाइसेन्स पाउनेबित्तिकै केके न भएजस्तै अन्धाधुन्ध सवारी साधन चलाउने परिपाटी छ, जसले दुर्घटना बढाएको छ,’ ‘यातायात व्यवस्था विभागका महानिर्देशक नवराज घिमिरेले भने, ’अब हामी सिधै स्मार्ट लाइसेन्स दिँदैनौं । परीक्षणका लागि एक वर्षको प्रोभिजनल लाइसेन्स दिएपछि मात्रै स्मार्ट लाइसेन्स दिन्छौं ।’
प्रोभिजनल लाइसेन्स पाएको अवधिभर पाँचपटकभन्दा बढी ट्राफिक कारबाहीमा परे उसको प्रोभिजनल लाइसेन्स समेत रद्द हुनुका साथै स्मार्ट लाइसेन्सका लागि पुनः सम्पूर्ण प्रक्रिया नयाँ थाल्नुपर्छ । अर्थात्, नयाँ प्रक्रियाबाट पुनः प्रोभिजनल लाइसेन्स लिनुपर्नेछ ।
प्रोभिजनल लाइसेन्स पाएको एक वर्षको अवधिभरमा पाँच पटकभन्दा कम कारबाही पर्नेले भने सिधै स्मार्ट लाइसेन्स दिइनेछ ।
अहिले सरकारले ट्रायल पास गरेपछि रसिद दिने गरेको छ। चालकले रसिदका आधारमा सवारी साधन चलाइरहेका छन् ।
प्रचलित लाइसेन्सको परीक्षा प्रणाली अनुसार पास हुनका लागि शतप्रतिशत अंक ल्याउनुपर्छ । सो प्रणाली सरल बनाएर अब ७० प्रतिशत ल्याए पास हुने व्यवस्था लागू गर्न लागिएको हो ।
प्रचलित व्यवस्था कडा भएकाले अधिकांश फेल हुने गरेका थिए । उत्तीर्ण हुन्छु भन्नेमा आत्मविश्वास नभएकाहरू ठगीमा समेत पर्ने गरेका छन् । यही कारण यातायातका कर्मचारीहरू पनि घूस कान्डमा मुछिएका घटना सामान्यजस्तै भएका छन् ।
सुधारिएको प्रणाली अनुसार ट्रायलका दौरान समावेश हुने विभिन्न पक्षलाई आधार मानेर अंक दिइने छ । जस्तै, ट्राफिक लाइट, उकालो–ओरालो, स्पिड ब्रेकर, पार्किङ लगायतलाई आधार मानेर तिनीहरुका लागि अलग अलग अंक छुट्याइने छ । जसबाट ७० अंक ल्याउने पास हुनेछ ।

प्रकाशित मिति: जेष्ठ २८ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend