सोलुखुम्बुः सोलुखुम्बुको दूधकुण्ड नगरपालिका ८ स्थित सेतोमाने भन्ने स्थानमा जेसिबी क्रेन बोकेर सोलुखुम्बुबाट पोखरा जाँदै गरेको ग१क ५१७३ नम्बरको ट्रकमा रोडमाथि टागिएको विद्युतको मेन तारमा जेसिबीले छुँदा करेन्ट लागेर दुईजनाको घटनास्थलमै मृत्यु भएको छ । गुडिरहेको जेसिबीमा एक्कासी करेन्टले छोएको थियो ।
घटनामा २ जना घाइते समेत भएका छन् । मृत्यु हुनेमा ट्रक चालक बाग्लुङ बडीगंगा गाऊाँलिका ५ का २६ वर्षीय भूमिराज मरासैनी र सोही ट्रकमा सवार जेसिबी चालक स्याङजा का २३ वर्षीय राम परियार रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक कवित कटुवालले जानकारी दिए ।
घाइतेहरुमा ट्रकका सहचालक बाग्लुङ मालिटा गाउँपालिका ८ का १९ वर्षीय वसन्त पौडेल र राम परियारको श्रीमती २० वर्षीया लिला परियार रहेका छन् ।
घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय सोलुबाट प्रनाउको कमाण्डमा र प्रहरी चौकी पतालेबाट प्रहरी टोली खटि गई घाइतेहरुलाई उद्धार गरी उपचारको लागी जिल्ला अस्पताल फाप्लु सोलुखुम्बुमा पठाइएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको १ नं. प्रदेश कार्यालय विराटनगरका सूचना अधिकृत महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

