धरानः नेपालमा गत वर्षभन्दा तीन दिन अघि यस वर्षको मनसुन भित्रिएको छ । नेपालमा मनसुन शुरु हुने औसत मिति जुन १३ तारिख मानिन्छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले शुक्रबारबाट नेपालमा मनसुन भित्रिएको जानकारी दिँदै मनसुन भित्रिएका क्षेत्रमा हल्कादेखि मध्यम वर्षा हुने योग रहेको छ । पूर्वी भेगबाट मनसुन भित्रिएकामा शुक्रबार काठमाडौँलगायत क्षेत्रमा पनि वर्षा भएको छ । देशका सबै भागमा मनसुन फैलन भने अझै एक दुई लाग्ने दिन लाग्ने प्रक्षेपण मौसमविद्को छ ।
यस वर्ष देशका अधिकांश भागमा विगत वर्षभन्दा धेरै वर्षा हुने अनुमान मौसमविद्ले गरेका छन् । नेपालमा सामान्यतया चार महिना मनसुन रहन्छ । बढी वर्षाले बाढी र पहिरो निम्तिने तथा जनधनको क्षति हुने खतरा भएकाले त्यसको न्यूनीकरणका लागि अहिलेदेखि नै ध्यान दिन मौसमविद्ले सुझाएका छन् ।
बङ्गालको खाडी आसपास विकसित भएको न्यून चापीय क्षेत्रका कारण शुक्रबारदेखि नेपालको पूर्वी भूभाग प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेशमा मनसुन आगमन भएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् प्रधानाङ्गका अनुसार एक दुई दिनमै मनसुन देशैभरि फैलिएर वर्षा हुने सम्भावना छ । आगामी साता मनसुन सक्रिय भई देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा, केही स्थानहरुमा भारी वर्षा र थोरै स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना छ । महाशाखाले आज विशेष मौसम बुलेटिनमार्फत आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।
महाशाखाले मनसुनलाई निरन्तर अनुगमन गरिरहेको र सबैलाई अद्यावधिक मौसमी सूचनाको जानकारी लिन समेत अनुरोध गरेको छ । नेपालमा सामान्यतया मनसुन जुन १३ मा भित्रिने र अक्टोबर २ मा बाहिरिने गरेको छ ।

