Hamro Koshi Aawaj

सोमबार, असोज ५ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा युवा मृत फेला प्रकरण

हाम्रो कोशी आवाज
असार ६ २०७८, आइतबार
धरानमा युवा मृत फेला प्रकरण

धरानः गत जेठ ५ गते धरान-४ वैदाम खोप (दानाबारी तल) मा जङ्गलमा एक युवाको शव कुहिएको अवस्थामा फेला परयो । स्थानीय एक महिलाले जङ्गलमा सुँगुरलाई चारो खोज्न जाने क्रममा सो शव देखेपछि प्रहरीलाई खबर गरेको बताएकी छिन् ।
प्रहरी घटनास्थलसम्म पुगेर शवको पहिचान पनि गरयो । आफन्तको सहयोगमा प्रहरीले शवको पहिचान गरेको हो । सडेको अवस्थामा फेला परेको सो शव थियो– धरान-५ का स्थायी बासिन्दा प्रदीप सुब्बाको । उनको शव कोल्टे परेको अवस्थामा थियो । प्रहरीले शव पल्टाएर हेर्न खोज्यो । शव पल्टाउँदा शवको एउटा हात र टाउको छुट्टियो । त्यसपछि एकजना व्यक्तिको फोन आयो– शव त तपाईहरुकै छोराको जस्तै देखियो । आफ्नो छोराको खोजीमा रहेका धरान-५ का एक परिवारलाई चासो लाग्यो । ती परिवार हाम्रो मान्छे पनि हराएको र हाम्रो मान्छेको शव होला भन्दै घटनास्थलमा पुगे ।
लगाएको पोशाक, खुट्टाको नङको कारणले शव चिनिहाले । ‘यो हाम्रै छोरो शव हो भनेर प्रहरीलाई भनिदियौं’, घटनास्थलमा पुगेकी आमा कविता सुब्बाले भनिन्, ‘त्यसपछि प्रहरीले शव बटुलेर पोष्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्यायो । शवको पोष्टमार्टमपछि प्रहरीले अब शव जलाउनु भनेर भनेपछि परिवारले शुरुमा आनाकानी गरे । ‘के कारणले यसको मृत्यु भएको हो नजानी, नबुझी हामी शव जलाउँदैनौं भन्यौं’, मृतककी बहिनी कृतिमा सुब्बाले भनिन्, ‘सडेको शव नराखौं, आफ्नो संस्कारअनुसार शवको व्यवस्थापन गर्दा हुन्छ, हामी यसको छानविन गछौं भनेपछि जेठ ७ गते हामीले शव जलायौं ।’
घटना भएको झन्डै महिनादिन बितिसक्दा पनि प्रहरीले अपराधीहरु पत्ता नलगाएकोप्रति पीडितले न्यायको आशा मारेका छन् । ‘खोइ झन्डै एक महिना भइसक्यो, अनुसन्धान भइरहेको मात्रै भनेको सुनिन्छ तर हत्या वा अन्य के हो पत्ता लागेको छैन, न्याय मिल्छ कसरी भन्नु ?’ मृतकका बाबु सूर्यबहादुर सुब्बाले भने, ‘प्रहरीले पनि छानविन गछौैं भनिरहेका छन् तर खोइ छानविन ?’

मृतक सुब्बाको शव, खुट्टातर्फको भाग र चुटिएको अवस्थामा भेटिएको टाउको, टाउकोमा देखिएको चोट ।

योजनाबद्ध हत्या भएको पीडितको दावी
उनीहरुले प्रहरीको अनुसन्धानमा ढिलाइ भइरहेको भन्दै असन्तुष्ट जनाएका छन् । उनीहरुले न्यायका लागि सहयोग गरिदिन पत्रकार गुहारेका छन् । ‘हामी हाँसेर बाँच्न सक्दैनौं, मेरो भाइको फोटो हेरेर दिन बिताइरहेका छौं’, बहिनी कृतिमाले भनिन्, ‘घटना स्वभाविक नभएर सुनियोजित हो, यसतर्फ सबैको ध्यान केन्द्रित हुन जरुरी छ ।’
उनले घटनाको प्रकृति हेर्दा सुनियोजित अपराध प्रष्ट देखिएको दावी गरिन् । उनका अनुसार शवको टाउकोको हड्डीमै समेत गम्भीर चोट देखिनु, हात, शव तान्दा टाउको छुट्टिनु, बाटोदेखि निकै पर (हिँडेर जाँदा करिब ४० मिनेट लाग्ने ठाउँ) शव भेटिनु आदि कारणले पनि घटना रहस्यमय, सुनियोजित, योजनाबद्ध ढङ्गले हत्या गरिएको हो । ‘यदि ल लडेरै मरेको हो एक महिनामै शरीरको विभिन्न अङ्ग त चुट्टिदैन नि’, मृतककी बहिनी कृतिमा भन्छिन् ।
आफूहरुले शंकास्पद व्यक्तिहरुको नाम र विवरण दिँदा समेत प्रहरीले अपराधी पत्ता लगाउन खास चासो नदिएको पीडित परिवारको गुनासो छ । पटक–पटक ताकेता गर्दा इलाका प्रहरी कार्यालय धरानले किटानी जाहेरी लिन नमानेको मृतककी बहिनी कृतिमाले बताइन् । ‘हामीले शंकास्पद व्यक्तिहरुबारे किटानी जाहेरी दिएका थियौं तर प्रहरीले लिन मानेन’, उनले भनिन्, ‘प्रहरीले के हो भनेर सोध्नुभयो, हामीले घटनाबारे विस्तृत जानकारी दियौं र किटानी जाहेरी दिन आएको भन्दा डिएसपी सा’ बिरामी भएर सुतिराख्नुभएको छ, उहाँलाई नभेटी हुँदैन खोइ दिनु म कागजात म राखिराख्छु भनेर एकजना प्रहरी जवानले राखिदिनुभयो, त्यो कागजात कहाँ छ, कस्तो अवस्थामा छ हामीलाई थाहा छैन ।’
उनले तीनदिनपछि फोन गर्दा हामी आफैं बोलाउँछौं भनेर प्रहरीले भनेको सुनाइन् । ‘हामी सल्लाह गर्दैछौं, हामी आफैं बोलाइहाल्छौं नि भनेर भनेका छन्’, उनी भन्छिन्, ‘तर आज हप्तादिन हुन लाग्यो बोलाइएको छैन ।’
उनका अनुसार उनलाई मोबाइल बनाइदिएको छु भनेर बोलाउने साथीलगायत तीनजनाको नाममा शंकास्पद व्यक्ति भनेर किटानी जाहेरी दिन खोजिएको थियो ।

मोबाइल लिन जान्छु भनी हिँडेका थिए प्रदीप
मृतककी बहिनी कृतिमाका अनुसार प्रदीप कहिलेकाहीँ घर छाडेर हिँड्ने र केही दिन हराउने गरेका थिए । त्यतिबेला परिवारले त्यतिका दिनसम्म खोजी गर्दैन थिए । ‘जहाँ गएपनि आइहाल्ने स्वभाव थियो’, उनले भनिन्, ‘त्यस्तै होला भन्ने सोंच्यौं तर यसपटक फरक भयो ।’
बहिनी कृतिमाका अनुसार प्रतीक वैशाख ७ गतेअघि आफूसँगै बस्दै आएका थिए । एकजना साथीले मोबाइल बनाइदिएको रहेछ म जान्छु भन्दै प्रदीप वैशाख ७ गते आफू बस्दै आएको घर धरानस्थित भोटेपुलबाट हिँडे । तर त्यहाँदेखि उनी घर फर्केनन् ।
उनका अनुसार प्रदीप काठमाडौं जान्छु पनि भन्दै आएका थिए । ‘मैले सोंचे दाजु काठमाडौं जान्छु भन्दै हुनुहुन्थ्यो, काठमाडौं जानुभयो होला आउनु पनि भएन,’ उनले भनिन्, ‘धेरै दिनमा पनि नआइसकेपछि खुल्दुली भयो, फोन गरयौं, फोन लागेन, सबै आफन्तकहाँ सोधिखोजी गरयौं तर कहीँ पत्ता लागेन, त्यसपछि प्रहरीलाई जानकारी दिने सरसल्लाह भयो तर दाजु कतै हुनुहुँदोरहेछ भने त मलाई नसोधी मेरो बारेमा जानकारी दिने भनेर रिसाउनुहुन्छ भन्ने डरले निवेदन दिएनौं ।’
लकडाउन पनि शुरु भइसकेकोले कहीँकतै जाने अवस्था नरहेकोले आफूहरु त्यतिकै बसेको उनले बताइन् । जहाँ मोबाइल लिन जान्छु भनेर हिँडेको थियो, त्यस व्यक्तिलाई पनि फोन गरेको र तर उसले प्रदीप त अस्ति नै हिँडिसकेको भन्ने जवाफ पाएको उनले बताइन् । कतैबाट पनि न्याय नमिलेको र प्रहरीले न्याय दिलाउनुपर्ने परिवारजनको माग छ ।
इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीले शव ‘फ्रेस’ अवस्थामा नभेटिएको बताए । ‘शव कुहिएको अवस्थामा भेटिएको थियो’, उनले भने, ‘पोष्टमार्टम रिपोर्ट आइसकेको छ, हामीसुक्ष्म ढङ्गले अनुसन्धान गरिरहेका छौं ।’
ती व्यक्ति मरेको हो कि मारिएको हो अनुसन्धानकै चरणमा रहेको उनले जानकारी दिए । ‘मान्छे मारिएको भए किटानी जाहेरी दिन मिल्थ्यो’ उनले भने, ‘मान्छे मरेको हो कि मारिएको हो त्यो नै अनुसन्धान भइरहेको छ, यदि मारिएको हो भन्ने अनुसन्धानले देखाए हामी अबचाहिँ किटानी जाहेर दिनुहोस् भनिहाल्छौं ।’

प्रकाशित मिति: असार ६ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend