संखुवासभाः संखुवासभा खाँदबारी नगरपालिका ४ सेखाका नरेश गुरुङको घरमा नयाँ ट्वाइलेट बनाउने क्रममा ढलानको सेटिङ खोल्ने क्रममा अचानक सो सेफ्टीटेङकीमा खसेर दुईजना मजदुरको मृत्यु भएको छ ।
मृत्यु हुनेमा खाँदबारी–५ का ३७ वर्षीय तारावीर गुरुङ र खाँदबारी–४ का २४ वर्षीय ईश्वरबहादुर राई रहेका छन् । आइतबार साँझ ६ बजे सेफ्टीटङकी खसेर बेहोस भएका उनीहरुको तत्कालै उद्धार गरी उपचारको लागि जिल्ला अस्पताल खाँदबारीमा लगेकोमा उपचारकै क्रममा पौने ८ बजे दुवै जनाको मृत्यु भएको हो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट प्रहरी टोली खटी गई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै, पाँचथर याङवरक गाउँपालिका २ स्थितमा पहिरोसँगै झरेको ढुंगाले लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा याङवरक गाऊपालिका २ लेखेवा का ५८ बर्षीय टेकनाथ धौराली रहेका छन् ।
उनको टाउको, शरीरमा ढुंगाले लागी घटनास्थलमै मृत्यु भएको हो भने सोही स्थानका ५२ वर्षीय खड्कबहादुर राई सामान्य घाइते भएका छन् ।
सोमबार बिहान सवा ७ बजे उनीहरुलाई नुवाखोलाबाट निकालिएको पानीको कुलो बनाउने क्रममा अचानक माथीबाट पहिरोसँगै आएको ढुंगाले लागेको थियो । घटनाको जानकारी पाउन साथ प्रहरी चौकी फलैंचा र सीमा प्रहरी चौकी च्याङथापुबाट प्रहरी टोली खटी गई घाइतेलाई उपचारको लागि स्थानीय स्वास्थ्यचौकीमा पठाइएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।