धरानः धरानलगायत प्रदेश १ मा आधा भएपनि सार्वजनिक बस चलाउन पाउनुपर्ने यातायात व्यवसायीले माग गरेका छन् ।
नेपाल याततायात व्यवसायी राष्ट्रिय महासंघ १ नं. प्र्रदेश समिति धरानले जिल्ला प्रशासन कार्यालय सुनसरी, मोरङ र झापालाई ज्ञापनपत्र बुझाएको छ । प्रदेश १ मा आवश्यक स्वास्थ्य सुरक्षाका न्यूनतम मापदण्डलाई पूर्ण पालना गराउँदै पहिलो चरणमा प्रदेश नं. १ भित्रका जिल्लाहरुमा जोरबिजोर प्रणलीमार्फत् यातायात सञ्चालन हुन दिनुपर्ने व्यवसायीको भनाइ छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ प्रदेश १ का संयोजक सरोज श्रेष्ठद्वारा जारी विज्ञप्तिमा हाल कोरोना संक्रमण दर न्यून हुँदै गएको र कोरोनासँग डराएर भन्दा स्वास्थ्य मापदण्ड पूर्ण पालना गरिने जनाइएको छ । उनीहरुले जोरबिजोर प्रणालीमार्फत् अन्तरजिल्ला समन्वय गरी यातायात सञ्चालनको माग गरेका छन् ।
विशेषतः सार्वजनिक यात्रुवाहक सवारी साधनहरु विगतमा जस्तै सबैभन्दा बढी मारमा परेकोले गत सालको लामो समयको लकडान अवधिको बैंक, ब्याज, किस्ता समेत पुनर्तालिकीकरण गरी भुक्तानी गर्दै गरेकोमा सो समेत चुक्ता नभई सकेको अवस्थामा पुनः दोस्रो निषेधाज्ञाले यातायात क्षेत्र धरासायी हुन पुगेको ज्ञापनपत्रमा जनाइएको छ । गत वर्ष केही संघसंस्थाले राहत दिँदा श्रमजीवी व्यवसायी एवं मजदुरलाई राहत भएपनि अहिले कहीँकतैबाट राहत नआउँदा अझ बढी मारमा परेको ज्ञापनपत्रमा जनाइएको छ ।
यस्तै, सवारी चालक, सहचालक, यातायात कर्मचारी तथा यातायात व्यवसायीमा कोरोना संक्रमण हुने सम्भावना बढी रहेकोले कोरोनाविरुद्धको खोपको व्यवस्था गर्न आवश्यक पहल गरिदिन अनुरोध गरिएको संयोजक श्रेष्ठले जानकारी दिए ।
देशको राजधानीलगायत केही ठाउँमा मङ्गलबारदेखि बजारखोल्ने र निजी सवारी साधनलाई जोरबिजोरको आधारमा चल्न दिने सरकारले निर्णय गरेको छ ।


