यदि तपाईंका आफन्त वा छोराछोरीको स्वभाव, बोल्ने शैली र दैनिकी अचानक परिवर्तन हुँदै गएको छ, शरीर कमजोर बन्दै गएको छ भने सचेत हुनुहोस्– उनीहरु लागूपदार्थको दुव्र्यसनमा फसेका हुन सक्छन् ।
सरकारी तथ्याङ्कअनुसार १ लाख ३० हजारको हाराहारीमा नेपालमा कडा लागूपदार्थ सेवन गर्नेको संख्या रहेको र त्यसमध्ये ७ प्रतिशत महिला छन् । प्रतिवर्ष ११.३६ प्रतिशतका दरले दुव्र्यसनीको संख्या बढ्दै गएको तथ्याङ्कले देखाएको छ । गाँजा, रक्सी जस्ता वस्तुलाई कडा लागूपदार्थको परिभाषा अन्तर्गत राखिएको छैन । नेपालमा सबैभन्दा बढी काठमाडौ र क्रमशः सुनसरी, कास्की, मोरङ, झापा, रुपन्देही, चितवन र बाँके जिल्लामा लागुऔषध प्रयोगकर्ता रहेको गृहमन्त्रालय र केन्द्रीय तथ्याङ्क विभागले गरेको अध्ययनले देखाएको छ ।
प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले पनि लागुपदार्थको दुव्यसनी अधिकांश युवा उमेरका विद्यार्थी रहेको जनाएको छ । अभिभावकले आफ्ना छोराछोरीका हरेक क्रियाकलाप, साथीभाइ, विद्यालय समय बाहेक अरुबेला व्यतीत गर्ने ठाउँबारे जानकारी लिनुपर्नेमा ब्युरोको जोड छ । आफ्ना सन्तान ९ कक्षामा पुग्दादेखि अभिभावकले उनीहरुको व्यवहार र आनीबानीमा ध्यान दिनुपर्ने सुझाव दिएको छ । छोराछोरीले लागूऔषध प्रयोग गरेको थाहा पाएमा त्यसलाई नलुकाई त्यस्ता प्रयोगकर्ताका लागि खोलिएका पुनःस्थापना केन्द्रमा लगी उपचार गराउनुपर्नेमा इकाइले जोड दिएको छ । दुव्र्यसनीका लागि विभिन्न संघ संस्थाले हाल तीन सयभन्दा बढी पुनःस्थापना केन्द्र सञ्चालनमा रहेका छन् ।
बाबुआमाले छोराछोरीलाई आवश्यक ध्यान नदिई पारिवारिक वातावरण बिग्रँदा, साथीभाइको लहलहै, निराशा, असफलता र यस्ता वस्तु बेच्ने गिरोहको करकापका कारण लागुपदार्थको प्रयोग गर्ने गरेको भेटिएको छ । नेपालमा सन् ६० को दशकमा हिप्पीहरुको प्रवेशसँगै गाँजा र अफिमको प्रयोग बढेको भेटिन्छ । सन् ९० को दशकमा आइपुग्दा गाँजा, अफिममा सीमित नरही हेरोइन, ब्राउन सुगर जस्ता महँगा लागूऔषधको प्रयोग बढेको भेटिन्छ ।
लागूऔषध महँगो हुने भएकाले कारोबारीले विशेषतः घरानिया र धनीका छोराछोरीलाई यसको प्रयोग गराउन विभिन्न उपाय अपनाउने गरेको प्रहरीको अनुभव छ। नेपाललाई विशेषतः लागुऔषधको बिक्रीभन्दा पनि अपराधीले ‘ट्रान्जिट’ का रुपमा प्रयाग गर्ने गरेको तथ्यहरुले देखाएका छन् । कोकिन ल्याटिन अमेरिकी मुलुक हुँदै आउने र ‘आइस ड्रग’ हङकङ, थाइल्यान्ड हुँदै नेपाललाई ट्रान्जिटका रुपमा प्रयोग गर्ने गरिएको छ ।
संयुक्त राष्ट्रसंघले गरेको एक अध्ययन अनुसार विश्वमा ३० करोड भन्दाबढी लागुऔषध दुव्र्यसनीमा छन् । त्यसैगरी तीन खर्ब ३२ अर्ब डलर वार्षिक यसको कारोबार हुने गर्छ। विश्वमा हतियार, लागुऔषध र मानव तस्करी सबैभन्दा बढी कारोबार हुने शीर्ष तीनमा पर्छन् ।
कुनै पनि औषधि जसको सेवनले मानिसको केन्द्रीय स्नायु प्रणालीमा प्रभाव पार्नुका साथै प्रयोगकर्ताको भावना तथा सोचाईमा परिवर्तन ल्याउँछ भने त्यसलाई लागुऔषध भनिन्छ । जसले मानसिक चेतना, अनुभूति र मनोभावनालाई प्रभावित पारी बुझ्ने, सम्झने र सोच्ने शक्तिलाई विकृत तुल्याउँछ । लागूऔषधलाई स्वापकजन्य वा पीडाहर, अवसादक वा आलस्यजन्य, उत्तेजक र मतिभ्रामक गरी चार किसिममा वर्गीकरण गरिएको पाइन्छ ।
अफिम, मर्फिन, कोडिन, हेरोइन, पेथेडिन, मेथाडोन जस्ता निद्रा लगाउने र चेतनाको अवस्थामा फरकपन ल्याउने स्वापकजन्य वा पीडाहर किसिमको लागुऔषध, बार्बिच्युरेट्स, बेन्जोडायजेपाम, नाइट्रोजेपाम जस्ता केन्द्रीय स्नायु प्रणालीमा असर गर्ने अवसादक वा आलस्यजन्य लागुऔषधका प्रकार छन् ।
त्यसैगरी निकोटिन, क्याफिन, एमफिटामिन जस्ता स्नायु प्रणालीको गति वा कामलाई तीव्र गति दिने उत्तेजना बढाउने, भोक हटाउने र थकाई मेटाउने उत्तेजक लागुऔषध र एल.एस.डी, क्रोमा डि.एम.ए, सिलासाइबिन, मेस्किलिन जस्ता मति, चेतनालाई भ्रमित तुल्याउने मति भ्रामक लागुऔषधको प्रकार हो ।
झगडा गरेर चाहिने भन्दा बढी पैसा माग्नु, घरबाट पैसा र बहुमूल्य समान हराउँदै जानु, शौचालयमा लामो समय बिताउनु, शरीरमा काटिएको खत देखिनु, घरमा ढिलो आउनु, छटपटी हुनु, शरीर काम्नु, सुत्ने र उठ्ने समय अचानक परिवर्तन हुनु, आँखा रातो हुनु, आँसु आइरहनु, बोली लर्बरिनु, आँखा जुधाएर कुरा गर्न नसक्नु, सरसफाइमा ध्यान नदिनु, एक्लोपन रुचाउनु जस्ता मुख्य लक्षण लागुऔषध प्रयोगर्तामा देखिन्छन् ।
छोराछोरीलाई खेलकुद, कला तथा साङ्गीतिक कार्यक्रममा बढी संलग्न गराउने, गलत व्यक्तिसँगको संगतबाट टाढा राख्ने, धूम्रपान र मद्यपानबाट टाढा राख्ने, लागुऔषधबारे सचेत गराउने, छोराछोरीसँग पर्याप्त समय बिताउने र विचारको आदानप्रदान गरेर उनीहरुलाई लागुऔषधबाट टाढा राख्न सकिन्छ ।








