धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।
गिरीको शैक्षिक योग्यताका विषयमा प्रश्न उठ्दै आएपछि शशीविक्रम कार्की र आशिष राईले सो विषयमा छानबिन गर्न माग गर्दै अख्तियारमा उजुरी हालेका हुन् । भक्तपुरका कार्की र संखुवासभाका राईले अख्तियारमा उजुरी हालेका हुन् ।
उजुरी निवेदनअनुसार डा. गिरीले कुनै विश्वविद्यालयबाट वैधरुपमा प्राध्यापकको डिग्री नलिइकनै आफ्नो नामको अगाडि प्राध्यापक लेख्ने गरेको तथा सोही हैसियतले प्रतिष्ठानको उपकुलपति भएको विषय बाहिर आइरहेको हुनाले यसविरुद्ध आवाज उठाएको राईले जानकारी दिएका छन् ।
‘उनको योग्यतासम्बन्धी सबै कागजातहरुको विस्तृत अध्ययन गरी दोषी पाइएमा कानुनअनुसार कारबाही प्रक्रिया अगाडि बढाउन आग्रह गरेका हौं’, उनले फोन सम्पर्कमा भने ।
डा. गिरीले विश्वविद्यालयबाट वैधरुपमा प्राध्यापकको डिग्री नलिइकनै आफ्नो नामको अगाडि प्राध्यापक लेख्ने गरेको तथा सोही हैसियतले प्रतिष्ठानको उपकुलपति भएको विषय बाहिर आएकाले उजुरी दिएको राईले जानकारी दिए ।
‘आज (बिहीबार) उजुरी दिएका छौं, उजुरी दर्ता मात्रै भयो, शुक्रबार मात्रै उजुरी दर्ता नम्बर आउँछ’, राईले भने ।
उनीहरु यसअघि विवेकशील नेपाली दलमा आवद्ध थिए । विदेशमा बस्ने नेपालीले पनि भोट हाल्न पाउनुपर्छ भन्ने आवाज उठाउँदै आएको उनले बताए ।
