धरानः धरान उपमहानगरपालिका–५ स्थित तल्लो देउरालीमा बसोबास गर्ने स्थानीयबासीहरुको भेलाले चोत्लुङ लिम्बूको संयोजकत्वमा २५ सदस्यीय सेउती–अँधेरी ‘हेल्थ करिडोर पहल समिति’ गठन भएको छ ।
स्थानीयवासी स्वर्णिमहाङ फोम्बो लिम्बूको अध्यक्षतामा सम्पन्न भएको सो समितिले हाललाई तल्लो देउराली सेउती पुल दक्षिण सुन्दरवस्ती हुँदै अँधेरी खोला निर्माणाधीन पुलसम्म यु टर्न २० मिटरको करिडोर बाटो निर्माणको लागि स्थानीय तह, प्रदेश र संघीय सरकारमा पहल गर्ने निर्णय गरेको छ ।
करिडोर निर्माण भए सेउती–अँधेरी खोलामा आउने बाढीबाट सुन्दर वस्ती पुरै सुरक्षित हुने स्थानीयहरु बताउँछन् । वस्ती संरक्षण गर्नको लागि के के गर्न सकिन्छ भनेर मेयर तिलक राई र प्राविधकहरुले स्थलगत अनुगमन पनि भइसकेको उनले जानकारी दिए ।
समितिले सेउती–अँधेरी हेल्थ करिडोरको प्रारम्भिक डिपिआर अध्ययनको लागि धरानस्थित स्पेकट्रम इञ्जिनियरिङ कन्सल्टेन्सीका प्राविधिक सुमन श्रेष्ठलाई दिने र सो कार्यको लागि धरान उपमहानगरपालिकाको आव २०७८–०७९ को बजेट कार्यनीतिमा समावेश गर्न अनुरोध गर्ने निर्णय गरेको छ ।
डिपिआर अध्ययनको लागि बिहीबार ४ बजे नै प्राविधिकहरुले अध्ययन गरेका छन् । प्राविधिकहरुको भनाइअनुसार सुन्दरवस्ती पुछारमा प्याराग्लाइडिङ अवतरण गर्ने उपयुक्त स्थान हुने बताएका छन् । ‘प्राविधिक आएर अध्ययन पनि गरिसकेका छन्’, फोम्बोले भने, ‘जग्गा भएकोमा प्याराग्लाइडिङ अवतरण गर्ने समेत भन्नुभएको छ, यस विषयमा पनि अध्ययन भइरहेको छ ।’उनका अनुसार रिङरोड बने त्यहाँ बोटविरुवा, फूल रोपेर हरियाली बनाइनेछ ।
गत शनिबार प्राविधिकसहितको टोली त्यहाँ पुगेको थियो । मेयर तिलक राईले स्थानीयबासीले सेउतीमा ढुंगागिट्टी थुप्रिएको कारण वर्षामा बाढीले वस्ती क्षति गर्ने खतरा भएको भन्दै च्यानलिङ गर्न माग गरेअनुसार स्थानीय दैवि प्रकोप समितिमार्फत निर्णय गरेर जिल्लामा पठाइएको बताए । उनले वस्तीलाई पनि जोगाउने र त्यहीको साधनस्रोत प्रयोग गरेर बाटो पनि बनाउन सकिने बताए । स्थानीयबासीले पनि रिङरोड बनाउन माग गरेका छन् । यो अवधारणा कार्यान्वय भएमा खोला अतिक्रमण पनि रोकिने र वस्ती पनि जोगिने उनले बताए ।






