Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा गाईपालकको गुनासो

हाम्रो कोशी आवाज
असार ११ २०७८, शुक्रबार
धरानमा गाईपालकको गुनासो

धरानः धरानमा पानी नमिसाई दूध बेच्ने किसान मारमा परेको गुनासो बढ्न थालेको छ ।
धरानमा गाईपाल्ने कृषकहरुमा अनुसार धरानमा अधिकांश बासी, पानी मिसाइएको दूध आउने गरेको उनीहरु बताउँछन् । धरानमा विशेषतः धरान बाहिरबाट दूध आउने गरेको छ । धरानमा विशेषतः बराहक्षेत्र, चक्रघट्टी, तरहरा, इटहरी, इनरुवा साथै धनकुटासम्मबाट पनि दूध आउने गरेको किसानहरु बताउँछन् ।
‘आफ्नो दूध बेच्नका लागि किसानले यसो भने होलान् भन्ने पनि निस्किएलान्’, धरान–१४ की गाईपालक कृषक पुष्पा कटुवालले भनिन्, ‘म दावीका साथ भन्छु, त्यो कदापी होइन, गाई पालेको २० वर्ष बढी भइसकेको छ, अहिलेसम्म पानी मिसाइएको दूध बेचेकै छैन, धरानका उपभोक्ताले दुई पैसाको लोभले गर्दा पानी मिसाइएको बाहिरको दूध खाने गरेका छन् ।’
उनी धरान–१४ मा १४ माउ गाई पाल्छिन् । उनले गाई पालेरै जीविकोपार्जन समेत गर्दै आएकी छिन् तर धरानमा पानी मिसाइएको, बासी दूध आउने गरेको दावी गरिन् । ‘गाईपाल्ने कृषकबाट संकलन गरिएको बेलुकाको दूध चिस्यान केन्द्रमा राखिन्छ’, उनले भनिन्, ‘भोलिपल्ट एकाबिहानै धरानमा ल्याएर बिक्री गरिन्छ ।’
उनले केन्द्रमा भोलिपल्ट बिहान ल्याएर बिक्री हुने हुने दूध सस्तो भाउमा बिक्री हुने गरेको बताइन् । ‘बेलुकाको दूधले बाच्छाको पेट ढाढिने मैले महसुस गरेको छु’, उनले भनिन्, ‘मान्छेको के होला ?’
धरानका अध्यापक समेत रहेका गाईपालक कृषक सुरेन्द्र घिमिरेले धरानमा जति पनि दूध बिक्री हुन्छ पानी नमिसाइएको बिक्री हुने गरेको दावी गरे । ‘हामीले अहिलेसम्म जतिबेला दुहुन्छौं, त्यतिबेलै पानी नमिसाइ जस्ताको त्यस्तै दूध बजारसम्म पुरयाउने गरेका छौं ।’
व्यवसायीका अनुसार धरानमा बाहिरबाट आउने दूधको मूल्य ६० देखि ७० रुपैयाँ पर्ने गर्दछ भने धरानको दूध ७० रुपैयाँदेखि माथि पर्ने गरेको छ ।
दूध उत्पादनका लागि गाईको मूल्य, ऋणको ब्याज, रोग तथा उपचार, घाँस र दाना, गोठमा काम गर्ने कामदारको स्वास्थ्य र उसले पाउने पारिश्रमिकले पनि धरानको दूध बढी मूल्यको हुने गरेको उनले बताए । ब्यावसायिक रुपमा गाईपालन गर्दै आएका घिमिरेका अनुसार राम्रो गाईको मूल्य १ लाख पचास हजारदेखि २ लाख पर्दछ ।
धरान–१४ पिण्डेश्वरी मन्दिर छेऊमा गाई पाल्दै आएका धरान–१६ का रविन गौतम पनि पानी नमिसाइएको दूध बिक्री गर्दै आएको बताए । विदेश बसेर धरान फर्किएपछि ४२ वटा गाई पाल्दै आएका उनले धरान बजार दूधका लागि आत्मनिर्भर हुन नसकेको बताए । ‘अहिलेसम्म पानी नमिसाइ दूध बेच्दै आएको छु’, उनले भने, ‘अहिले जनताले पानी मिसाएको र नमिसाएको चिन्न थालेका छन् ।’
उनले जनता चेतनास्तर बढेको भएपनि दूधमा पानी मिसाइने पानी कस्तो हो भन्नेबारेमा अनभिज्ञ रहेको बताए । ‘धरान बाहिरबाट ल्याइने दूधमा पानी मिसाइएको हो भन्ने सुनिएको छ तर कसैले अनुगमन गरेको थाहा छैन तर पनि जनतामा जति दूधबारे जानकार छन् कस्तो पानी मिसाइन्छ भन्नेबारेमा अनभिज्ञ नै छन् जस्तो लाग्छ ।’ उनका अनुसार दूधमा मिसाइने पानी सफा नहुनसक्ने आङ्कलन गरे ।
डा. सुरेश आचार्यका दूधमा मिसाइने कास्टिक सोडाको रासायनिक नाम सोडियम हाइड्रोअक्साइड हो । कास्टिक सोडाका विभिन्न रूप हुन्छन् र विभिन्न प्रयोजनमा प्रयोग गरिन्छ । खान हुने र नहुने दुवै खालका सोडा बजारमा पाइन्छन् । तर खाने सोडाको अधिक प्रयोगले स्वास्थ्यमा हानी पुरयाउँछ । नेपाली दूध व्यवसायीले कास्टिक सोडाको प्रयोग दूधलाई बाक्लो बनाउने उद्देश्यले गरेका हुन्छन् । बाक्लो दूधको चिया खानेहरूले खाइसकेपछि जिब्रो नै बाक्लो हुने अनुभव गर्नुको कारण साथै दूधलाई छिटो फाट्नबाट बचाउन पनि सोडाको प्रयोग गरिएको हुन्छ । सोडा रासायनिक अर्थमा ज्वलनशील पदार्थ मानिन्छ । अमलपित्तका कारण पेटमा जलन भएको अनुभव हुने कारणमध्येको एक दूधमा अधिक प्रयोग हुने सोडा पनि एक हो ।

प्रकाशित मिति: असार ११ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend