धरानः धरान-१ पुरानो बजारबाट प्रतिबन्धित औषधिसहित दुईजनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा धरान-९ कि ३० वर्षीया आस्मा खातुन र धरान-२ का ३५ वर्षीय मुन्नाप्रसाद मण्डल रहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए ।
बिहीबार बेलुका साढे ४ बजे खातुनले प्रतिबन्धित औषधिको कारोबार गर्ने गरेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान–१ पुरानो बजारमा रहेको खातुनको कोठामा खातुनसहित मण्डललाई फेला पारी खानतलासी गर्दा मण्डलको साथबाट स्पास्मो प्रोक्जोभिन आर प्लस १८ पत्ता १४४ क्याप्सुल र खातुनको कोठामा लुकाइराखेको स्पास्मो प्रोक्जोभिन आर प्लस ३०६ पत्ता २४४८ क्याप्सुल फेला पारेको पश्चात दुवै जनालाई पक्राउ गरिएको हो । पक्राउ परेका दुवैजना उपर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै, झापा मेचीनगर नगरपालिका ५ पिपल चोकस्थितबाट लागूऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले लागूऔषध ब्राउन सुगरसहित १ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोही स्थानका २९ वर्षीय रामबहादुर निरौला रहेका छन् । निरौलालाई लागूऔषध ब्राउन सुगर ३९ ग्राम र तौल गर्ने डिजिटल तराजु थान–१ सहित पक्राउ गरिएको हो ।
