धरानः मरणासन्न हुने गरी कुटिएकी दलित गर्भवती महिलाको धरानमा उपचार भइरहेको छ ।
मोरङको कानेपोखरी गाउँपालिका-५ चिसाङ बस्तीकी देविका मगरको परिवारले मोबाइलको सिम चोरेको आरोपमा कुटपिट गर्दा तीन महिनाको गर्भवती २५ वर्षीया डुकादेवी दर्जी तामाङले मानसिक सन्तुलन गुमाएकी थिइन् । मोबाइलको सिम चोरी गरेको झूटो आरोप लगाउँदै टिमेकीले कुटपिट गर्दा उनको यस्तो हालत भएको हो । हाल उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मानसिक विभागमा उपचार भइरहेको छ ।
आर्थिक अवस्था समेत कमजोर रहेकी ती महिलालाई प्रदेश १ का लागि धरानबाट निर्वाचित सांसद उमिता विश्वकर्मालगायत धरानका दलित अधिकारकर्मीले चासो लिएका छन् । उनले दलितमाथि चिथोमिचो, छुवाछुत मात्रै नभएर कुटपिट, बलात्कार, हत्या, आत्महत्या गर्न बाध्य पारिँदै आएको समेत बताइन् । प्रदेश सांसद विश्वकर्माले गर्भवती महिलामाथि मानसिक सन्तुलन गुम्नेगरी कुटपिटको घटना हुनु दुःखद् भएको बताउँदै दोषीलाई कडाभन्दा कडा कारवाहीको माग गरिन् । उनीहरुले ती महिलाका आफन्तलाई उपचार खर्च समेत सहयोग गरेका छन् । अहिले धरानका अधिकारकर्मी, महिलालगायतले पनि आर्थिकलगायतको सहयोग गर्दै आएका छन् ।
मानसिक सन्तुलन गुमाउन पुगेकी शोभालाई उनको परिवारले आर्थिक अभावमा घरमै बाँधेर राख्ने गरेका थिए । त्यतिबेला धामीझाँक्रीको सहारा पनि लिइएको परिवारले जनाएका छन् । तर, उनको धामीझाँक्रीले उपचार गर्दा सम्भव नभएपछि उनलाई उपचारका लागि धरान ल्याइएको थियो ।
उनको अझै स्वास्थ्यमा सुधार नभएको परिवारजनले जानकारी दिएका छन् । उनी तीन महिनाको गर्भवतीसमेत रहेको श्रीमान उमेश तामाङ बताउँछन् । चिकित्सकले समेत उनी तीन महिनाको गर्भवती रहेको जानकारी दिएको उनले जानकारी दिए ।
‘सिटी स्क्यान’ गराउन र औषधी खरिद गर्न पैसा नभएकोले उपचार अगाडि बढ्न नसकेको आफन्तले बताउँदै आएका छन् । उमेश तामाङसँग अन्तरजातीय विवाह गरेकी ती महिलाको हाल सात वर्षीया एक छोरी रहेकी छिन् । छिमेकीहरुका अनुसार स्थानीय चिसाङ खोलामा गिट्टी कुटेर जीविका चलाउने दर्जी परिवारले आर्थिक अभावमा उनकोे उपचार हुन सकेको छैन । गिट्टी कुटेर गुजारा गर्ने भएकाले उनीहरुको सम्पत्ति नरहेको आफन्तले बताएका छन् ।
मोबाइलको सिमचोरेको पुरानो आरोपमा चिसाङ बस्तीका चन्द्रमायाँ, बविता, पुष्पा र निर्मला मगरले उनीमाथि कुटपिट गरेका हुन् ।








