धरानः निषेधाज्ञामा धेरै सर्वसाधारणलाई मुख्यरूपमा खड्किएको विषय थियो– मर्निङ, इभिनिङ वाक गर्न पाइएकै छैन ।
हुन पनि हो, लामो समयको घरमा बसाईले सर्वसाधारणले शरीरलाई ‘रिफ्रेस’ पार्न सकिरहेका थिएनन् । निषेधाज्ञा केही खुकलो हुँदै गएपछि सर्वसाधारणहरु शरीरलाई स्फूर्ति र रिफ्रेस बनाउन मर्निङवाक र इभिनिङ वाक निस्किन थालेका छन् ।
स्वास्थ्यको दृष्टिकोणले आफूलाई चलायमान राख्न र दिनभरिको बसाईले शरीरमा आलश्य हुँदै आएको हुनाले बिहानपख एकैछिन स्वास्थ्यका मापदण्ड पालना गर्दै पारिवारिक तरिकाले निस्किएको धरान–१६ निवासी जीवन लिम्बूले बताए । ‘घरमा बस्दाबस्दा त तनाव भएजस्तो, शरीरमा आलश्य पैदा हुन थाल्यो’, चिन्डेडाँडामा भेटिएका उनले भने, ‘एक दुईजना साथीहरु मिलेर मर्निङवाकमा निस्कियौं ।’ बोझलाई हल्का पारी शरीरलाई पर्ने असहजतालाई मुक्ति दिन सर्वसाधारण केहीबेर हिँडडुल गरी शरीरलाई ‘रिफ्रेस’ दिन खोजिरहेको उनले बताए ।
‘धरानमा लाहुरे भिड्ने युवा त दिनहुँजसो दौडिरहेका हुन्थे तर निषेधाज्ञाले रोकियो’, धरान–१३ बस्दै आएका सुजन राईले भने, ‘पहिला ट्रेनिङ सेन्टरमार्फत् दौडिन्थे, अहिले एक्लै आएको छु ।’
यस्तै, धरानमा सामाजिक दुरी कायम गर्दै पारिवारिक घुमघाम गर्ने क्रम बढ्न थालेका छन् । चिन्डेडाँडा, आँपटार, फुस्रे, बीपी पार्क, विजयपुर, दानाबारीलगायत धरानका नजिकका गन्तव्य स्थानीयहरु ‘मुडफ्रेस’ लागि पुग्न थालेका छन् ।
धरानका अध्यापक चन्द्र वनेमले फेसबुकमा पोष्ट्याए- गुड सर्टडे । उनका अनुसार उनी दानाबारीसम्म घुम्न निस्किएको बताए । ‘धेरै समयपछि घुम्दा मुड फ्रेस भयो ।’ उनले भने ।
धरान–१५ की सुजाता लिम्बूले धेरैदिन घरमा बस्दा बस्दा वाक्क लागेको र मुड फ्रेस पार्नकै लागि भएपनि गत शनिबार एकदिन घरबाहिर निस्किएको सुनाइन् । ‘घरमा बस्दा बस्दा वाक्क भइयो, मुड फ्रेस पार्न हिँडौं भनेर परिवारसँग सल्लाह भएर निस्कियौं र चिन्डेडाँडासम्म हिँडेरै पुगेर आइयो ।’
साना साना नानीहरुदेखि सबैको रमाइलोका कारण मुड फ्रेस पनि हुने हुनाले चारजना घरबाट निस्किएको उनले बताइन् ।
‘यसअघि साना साना नानीहरुदेखि अन्य मोबाइल, टिभी हेर्दा र घरमा कोचिएर बस्दा बस्दा दिन काट्नै मुस्किल थियो’, उनले भनिन्, ‘एकदिनको हिँडाइले पनि कस्तो जिउ चङ्गाझैं भयो ।’
हुन त धराने बिहान–बेलुका शारीरिक कसरत गर्नका लागि पनि विभिन्न ठाउँ पुगेकै हुन्छन् । तर लकडाउनको समयमा कसरत गर्न नपाएपछि अहिले कसरत गर्ने, मुड फ्रेस पार्न निस्किने बढेका हुन् । अहिले विशेषतः बिहान, दिउँसो र बेलुकाको समय पारेर पारिवारिक घुमघाम गर्ने बढेका हुन् । धरान आसपासका क्षेत्र दानाबारी, चिन्डेडाँडा, धरान-१३ स्थित बीपी पार्क, विजयपुरको डाँडा, धरान-१३ र १४ मा पर्ने झोलुङ्गे पुल, विष्णुपादुकालगायतका स्थानमा घुमघाम गरेर फिर्ने गरेको धराने बताउँछन् ।
लामो समयसम्म निषेधाज्ञा हुँदा जनजीवन प्रभावित भएको थियो । अत्यावश्यकबाहेक सबै सेवा ठप्प थिए । अहिले धरानमा कोरोना संक्रमणदर घट्दो क्रममा रहेको जनाइएको छ । सर्वसाधारणले बिहान बेलुका हिँडेर आफ्नो शरीरलाई फूर्तिलो बनाउन सक्नेछन् । तर, प्रशासनबाट जारी हुने आदेशमा यो बुँदा उल्लेख भने छैन । मर्निङ र इभिनिङ वाकको लागि समय पनि तोकिएको छैन । आफ्नो इच्छाअनुसार हिँडेपनि स्वास्थ्य प्रोटोकल पालना गर्न भने आवश्यक छ ।
तस्वीरहरुः हाम्रो कोशी आवाज र फेसबुक

























































