धरानः सुनसरीमा पहिचान नखुलेको एक सवारी साधनको ठक्करले एकजनाको मृत्यु भएको छ ।
रामधुनी–१ मा पहिचान नभएको सवारी साधनको ठक्करले आज (आइतबार) बिहान मोरङको हसनदहका ३५ वर्षीय पूर्णबहादुर कार्कीको मृत्यु भएको प्रदेश नं. १ ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख सञ्जीवकुमार शर्माले जानकारी दिए ।
नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा प्र ३–०२–००९प८४१४ नम्बरको मोटरसाइकलका चालक उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
बिहान १ः४० बजेतिर भएको दुर्घटनामा परेर कार्की गम्भीर घाइते भएका थिए । इटहरीस्थित एपेक्स हस्पिटलमा उपचार हुन नसकेपछि उनलाई थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरिएको थियो । कार्कीको उपचारकै क्रममा बिहान ४ः३५ बजेतिर धरानमा मृत्यु भएको प्रमुख शर्माले जानकारी दिए ।
दुर्घटना गराएर पहिचान नखुलेको सवारी साधन फरार भएको छ । प्रहरीले सो सवारी साधनको खोजी तीब्र पारेर घटनाका बारेमा अनुसन्धान थालिएको जनाएको छ । मोटरसाइकल प्रहरी चौकी झुम्काको नियन्त्रणमा रहेको जनाइएको छ । सवारी साधन तीब्र गतिमा चलाएका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ । घटना पकलीबाट ४ किमी पश्चिममा पर्ने स्थानमा भएको हो ।
यता धरानमा स्कारपियोलाई स्कुटीले ठक्कर दिँदा दुईजना घाइते भएको प्रहरीले जनाएको छ । धरान–८ तीनकुनेस्थित कोशी राजमार्गमा धरानबाट विराटनगरतर्फ गइरहेको स्कारपियोलाई स्कुटीले ठक्कर दिएको थियो ।
प्रदेश नम्बर–१ तालिम केन्द्रका प्रहरी वरिष्ठ उपरीक्षक सवार बा१झ ४९७३ नम्बरको स्कारपियोलाई सोही दिशातर्फ पछाडिबाट गइरहेको प्रदेश १ –०२ –०४३प७८७६ नम्बरको स्कुटरले ठक्कर दिएको थियो ।
ठक्करले स्कारपियो गाडी सामान्य कोरिएको बर्दिया घर भई धरान–८ बस्ने वर्ष २३ को सुमन चौधरी घाइते भएका थिए । यस्तै पछाडि सवार संखुवासभा सिलिचोङ गाउँपालिका–५ बस्ने वर्ष ३३ को प्रमोद तिम्सिना पनि घाइते भएका छन् । दुवैको बीपी प्रतिष्ठानमै उपचार भइरहेको छ । चालकले मापसे गरेका कारण दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।