धरानः धरान–१ का कर्णबहादुर श्रेष्ठले सुन्दरहरैंचा नगरपालिका वडा नं.६ गछिया मोरङमा नवदुर्गा स्टोन क्रसर प्रालि नामक उद्योग खोले । उनी सो उद्योगका निर्देशक हुन् । अहिले पनि त्यो उद्योग चालु छ ।
त्यतिबेला त्यहाँ कार्यरत् कामदारकै कारण उनको व्यवसाय उक्सियो, उनलाई फलिफाप समेत भयो अर्थात् नाफा कमाए । तर कोरोनाका कारण उद्योगका पुराना कामदार खाद्य सङ्कट परेको चाल पाए । उनले उद्योगका पुराना कामदारको गुन भुलेनन् । परिवार भुपकुमारी श्रेष्ठसहित पुगेर उनले राहत बाँडेर फर्किए । उनीहरु धरानका चलेका गायक सपन श्रेष्ठका बुबाआमा हुन् ।
शनिबार तिनै पुराना कामदारलाई डेढ लाख बढीको खाद्यान्न सहयोग गरेर फर्किए । ‘जीवन सङ्घर्ष हो, सङ्घर्ष गरेर उद्योग खोलेको थिएँ, त्यतिबेला कामदारकै कारण सफल व्यवसायी पनि बनें’, कर्णबहादुर भन्छन्, ‘पुराना कामदारका परिवार भोकै छन् भन्ने चाल पाएपछि कमाएको केही रकम खर्चिने निधो गरें र दाल, चामललगायतका सामग्री बाँडिदिएँ ।’
एक सय विपन्न परिवारलाई १ लाख ६१ हजार ५ सय ५४ रुपैयाँ बराबरको २५ सय २५ केजी चामल, १६ कार्टुन तेल, १६० केजी दाल वितरण गरिएको उनले जानकारी दिए । होप धरानको सहजीकरणमा सो खाद्यान्न सामग्री वितरण गरिएको थियो । ‘जीवनका आरोहअवरोहसँगै संघर्षमय जीवनलाई उत्कृष्ट ब्यवसायीको रुपमा आफूलाई उभ्याउनुभएको थियो’, होप धरानका निश्चल पलिखेले भने, ‘सङ्कटमा परेकाहरुको लागि सानो सहयोग गर्ने संस्कारको बानी बसाल्नुपर्छ भन्ने सन्देश छर्नका लागि उहाँले सघाउनुभएको छ ।’
कार्यक्रममा सुन्दरहरैंचा मोरङकी उपमेयर धनमाया तामाङको प्रमुख अतिथि थिइन् भने वडानम्बर ६ का वडाध्यक्ष जीवनकुमार राई, वडा सदस्य टुनाकुमारी विक र कृष्णप्रसाद चापागाईं, पुष्पाञ्जली टोल विकासकी अध्यक्ष गीता राई, माइती नेपाल सुन्दरहरैंचा नगर सञ्जालका संयोजक नारायणी भण्डारी, समाजसेवी मातृका ढकाल, हरि श्रेष्ठ र लक्ष्मी सिग्देललगायतको उपस्थितिमा सो खाद्यान्न सामग्री वितरण गरिएको थियो । पलिखेका अनुसार यसअघि विराटनगरको रानीदेखि धरानको जिरोप्वाइन्टसम्म सडक बन्दा व्यवसायी श्रेष्ठकै उद्योगबाट उत्पादित सामग्री प्रयोग गरिएको थियो ।











