धरानः सुनसरीमा निषेधाज्ञा के होला ? भन्ने जनमानसमा चासो छ ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले सुनसरीमा निषेधाज्ञा थपेर अझै खुकुलो पार्ने जानकारी दिएका छन् ।
‘केही खुकुलो बनाएर थपिन्छ,’ प्रमुख जिल्ला अधिकारी ढकालले भने, ‘निर्णयलाई जिल्ला कोभिड सङ्कट व्यवस्थापन समिति (डीसीसीएमसी) मार्गनिर्देशक गर्छ ।’
माग भएका क्षेत्रलाई केही खुकुलो बनाउने भन्ने विषयमा छलफल भइरहेको उनले बताए । सवारी साधन चलाउने वा नचलाउने बारेमा पनि छलफल हुने उनले जानकारी दिए । उनका अनुसार यसपटक सार्वजनिक सवारी साधनलाई पनि जोरबिजोर अथवा अन्तरजिल्ला सञ्चालन गर्न सकिने सङ्केत गरे । ‘अबको रणनीति पनि निषेधाज्ञालाई थप खुकुलो पारेर लैजाने नै हुनेछ । तर, कुन क्षेत्रलाई कसरी खुकुलो पार्ने भन्ने बारेमा छलफलमै रहेका छौं, अन्तरजिल्ला यातायात चलाउनेबारे पनि छलफल चल्नेछ ।’ उनले भने । यसअघि टेम्पो, सिटी सफारीलगायतलाई चल्न दिइने निर्णय भएको थियो ।
दोस्रो लहरमा कोरोना भाइरसका सङ्क्रमित संख्या बढेपछि त्यसलाई रोकथाम तथा नियन्त्रण गर्ने आवश्यक कदम चाल्ने अधिकार जिल्ला प्रशासन कार्यालय प्रमुखलाई दिएको छ ।
धरानलगायत सुनसरीमा वैशाख दोस्रो सातादेखि नै निषेधाज्ञा छ । प्रशासनले असार १४ देखि थपेर २२ गतेसम्म निषेधाज्ञा जारी गरेको थियो । निषेधाज्ञा असार २२ गते रातिबाट सकिँदैछ ।
धरानमा संक्रमित बढेपनि सुनसरीमा अहिले संक्रमित घट्दै गएको पाइएको छ ।




