धरानः धरान-७ पानबारी बस स्टेण्ड छेऊका स्थानीयबासीले एकातिरको संरचना निर्माणका लागि आएको बजेट अर्कोतिर खर्चिएको भन्दै विरोध जनाएका छन् ।
त्यहाँस्थित दोभान लाइनको भौडी (खहरे) नियन्त्रणका लागि बजेट आएको तर लिलामार्गमा बजेट खर्चिएको उनीहरुले गुनासो गरेका छन् । ‘जुन कामका लागि बजेट आएको हो, त्यो कामका लागि बजेट नखर्चिँदा दुरुपयोग भयो भन्ने हाम्रो ठहर हो’, स्थानीयबासी अशोक शर्माले प्रश्न गरे, ‘यो त सरासर गलत काम होइन र, त्यति मात्रै होइन त्यहाँको बजेट कति, कसरी खर्च भएको हो हिसाब सार्वजनिक नगरिनु थप शङ्कास्पद छ ?’ उनले षडयन्त्रपूर्वक बजेट ‘टर्नओभर’ गरेर यहाँ ल्याइएको दावी गरे ।
उनका अनुसार सो ठाउँमा तटबन्धका लागि ४० लाख रुपैयाँ बजेट आएको थियो । अहिले ७० लाख रुपैयाँ खर्चिर लिलामार्गमा काम सम्पन्न भइसकेको छ । ‘पहिला ४० लाख बजेट आएको थियो पछि पुगेन भनेर फेरि ३० लाख बजेट आयो’, शर्मा भन्छन्, ‘त्यो रकमले खहरेको एकातर्फको वाल उठाइएको छ, त्यति वाल उठाउन नै ७० लाख खर्च भयो होला भन्ने हामीलाई लाग्दैन ।’
एक ठाउँको बजेट अर्को ठाउँमा खर्चिनु कसैको निर्देशनमा भएको र गलत ठाउँमा प्रयोग भएको स्थानीय खेम श्रेष्ठ बताउँछन् । ‘यो काम कसैको निर्देशनमा भएको छ’, उनी भन्छन्, ‘त्यही भएर त एकातिरको बजेट अर्कोतिर लगाइयो ।’
पीडितको नाममा बजेट ल्याएर त्यता लगाइनु सरासर गलत भएको उनी दावी गर्छन् । ‘दोभानलाइनका बासिन्दा अति नै पीडित छन् भनेर तिनीहरुको नाममा बजेट आएको मेरो दावी छ’, उनी भन्छन्, ‘सोझासिधा जनताको नाम लिने र बजेट ल्याउने, कामचाहिँ अर्कैतिर गर्नु कतिको न्यायसङ्गत होला ?’
स्थानीय आशा राईले वस्ती भएको ठाउँमा आएको बजेट बस्ती नभएको ठाउँमा खर्चिदा आशङ्का गर्ने ठाउँ रहेको बताइन् । ‘वस्ती भएको ठाउँकै लागि बजेट आएको थियो तर त्यहाँ नलगाइ वस्ती नभएको ठाउँतिर लगाइयो, हाम्रो ठाउँतिर बाढीले घर समेत बगाउने अवस्था छ तर ध्यान दिइएन’, उनले भनिन्, ‘वस्ती नै नभएको ठाउँमा बजेट लगाइँदा किन त्यहीँ बजेट लगाइएको हो, त्यसको कारण खोज्दा अहिलेसम्म जनप्रतिनिधिदेखि उपभोक्ता समितिका पदाधिकारी समेतलाई केही थाहा छैन भन्छन् ।’
किन त्यहाँ बजेट लगाइयो यसको कारण दिनुपर्ने उनी बताउँछिन् । ‘यसले पनि आशङ्का उब्जाएको छ’, उनी भन्छिन्, ‘७० लाख नै त्यो ठाउँका लागि मात्रै खर्च भएको हो त ? अर्थात् कति बजेट खर्च भएको हो भन्नेबारेमा वडाध्यक्ष, निर्माण समितिका उपभोक्ताबाट नै चित्तबुझ्दो जवाफ नआएकोले पनि भ्रष्टाचारको आशङ्का गरिएको छ ।’
स्थानीय दिलकुमारी राईले ४२ लाख बजेट आएको र सुकुम्बासी वस्तीका बासिन्दा मिलेर १ लाख उठाउने भनेको तर पछि बजेट त तल्लो खहरेतिर परेको भनेपछि आफूहरु अचम्मित बनेको बताइन् ।
भुपु मेयर मनोजकुमार मेन्याङ्बोसमेत त्यहाँ अनुगमनमा आउँदा करिब दुई सय मिटरमा उठाइएको वालमा ७० लाख खर्चिनु धेरै रकम भएको बताउँदै आएको र त्यस विषयमा सम्बन्धित निकायले चासो नदिएको स्थानीय अशोक बताउँछन् ।
वडा कार्यालयमा यस विषयमा उजुरी दिन लागिएको उनले जानकारी दिए । ‘धेरैपटक हामीले बजेटबारे चासो दियौं तर जनप्रतिनिधि नै झर्को र फर्को गर्न थालेपछि हामी थप आक्रोशित भएका छौं, सबै जनता एकठाउँमा रहँदै अब यस विषयमा आवाज उठाउँछौं’, उनले भने, ‘सत्यतथ्य बाहिर आउनैपर्छ, भ्रष्टाचार भएको छ भन्ने आशङ्का मेटाउनैपर्छ ।’
‘बालमैत्री पार्क र ज्येष्ठ नागरिक पार्कबारे चित्त बुझेको छैन’
स्थानीयका अनुसार लिलामार्ग छेऊमै बन्दै गरेको बालमैत्री र ज्येष्ठ नागरिक पार्कप्रति पनि गुनासो पोखेका छन् । १६ लाख २९ हजार २३ रुपैयाँमा बन्न लागेको पार्कको नाम स्व. भुपेन्द्र्रराज मोक्तान जेष्ठ नागरिक पार्क निर्माण भनेर नाम दिइएको छ । सो पार्कको बीचमा २० फुटे बाटो कायम गर्दै पार्क बनाउने भनेर काम पनि थालिएको तर पार्कको बीचमा बाटो हुन नहुने भन्दै उनीहरुले विरोध गरेका छन् । ‘पार्कको बीचमा बाटो छ, यस्तो पनि पार्क हुन्छ’, स्थानीय आशा राई भन्छिन्, ‘यस्तो कार्यको पनि हामीले विरोध गरिरहेका छौं ।’
स्थानीय अशोकका अनुसार व्यक्तिगत जग्गा स्याहार्ने हिसाबले वाल लगाइन नहुने बताए । उनका अनुसार त्यहाँ एकजना व्यापारीको जग्गा पनि छ । सो जग्गा संरक्षण गर्न र जग्गा बिक्रीका लागि बाटो खोल्नका लागि पार्कको ‘कन्सेप्ट’ ल्याइएको उनले दावी गरे । उनले यसबारे पनि निष्पक्ष छानविन हुनुपर्ने र हिसाब सार्वजनिक गर्नुपर्ने माग गरे ।
बिनाटेण्डर काम
७० लाख खर्चेर लगाइएको वालमा बिना टेण्डर काम गरिएको उनीहरुको गुनासो छ । ‘कम्तीमा ७० लाख रुपैयाँ खर्च हुने ठाउँमा टेण्डर आह्वान गर्नुपर्दथ्यो’, स्थानीय खेम श्रेष्ठ भन्छन्, ‘तर त्यसो गरिएन ।’ उनका अनुसार पार्कमा पनि टेण्डर परेको छैन ।
के भन्छन् वडाध्यक्ष ?
वडाध्यक्ष जीवन सुवेदीले २०७६–०७७ मा ४० लाख रुपैयाँले काम सम्पन्न नभइसकेपछि गत असार ३० लाख रुपैयाँ बजेट थप भएकोसम्म आफूलाई थाहा भएको बताए । ‘बजेट विनियोजन उपभोक्ता समिति गठन गरियो’, उनले भने, ‘त्यसपछि पार्क बनाउनका लागि ऐलानी जग्गाको सोधीखोजी हुँदा त्यहाँ जग्गा निस्किन्छ भनेर लागिपरेका हौं ।’
उनका अनुसार सिंचाई डिभिजन कार्यालयमार्फत् सो बजेट आएको बताए । उनले कति खर्च भयो, कति भुक्तानी भयो भन्नेबारेमा अहिलेसम्म आफू अनभिज्ञ नै रहेको बताए । ‘कति खर्च भयो भन्न सक्दिनँ, कति भुक्तानी दिइयो त्यो पनि भन्न सक्दिनँ’, उनले थपे, ‘योजना सम्पन्न भएपछि सम्पन्न भएकोबारे सिफारिस माग्न एकजना व्यक्ति आउनुभएको थियो, सिफारिस दिएको छैन, सिफारिस नक्कली बनाएर काम गरे भने थाहा छैन ।’
उनले ‘फोगटिया’ काममा खर्च गरिनुहुन्नँ भन्ने पक्षमा आफू पनि रहेको बताए । ‘म पनि यस वडालाई भ्रष्टाचारमुक्त वडा बनाउन लागेकै छु’, उनले भने, ‘तर अहिले आएर त्यहाँ विवाद भएकै हो ।’

७० लाख खर्चिएको एकातर्फको वाल ।



ज्येष्ठ नागरिक पार्क र पार्कमा लगाइएको वाल ।











