Hamro Koshi Aawaj

सोमबार, असोज ५ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

लोप हुँदै हाटबजार

हाम्रो कोशी आवाज
असार २१ २०७८, सोमबार
लोप हुँदै हाटबजार

केही वर्ष अगाडिसम्म देशका असंख्य गाउँ तथा केन्द्रका स्थानहरूमा ‘हाटबजार’ लोकप्रिय शब्दभित्र पथ्र्यो । यहि हाटबजारले दैनिक उपभोगका सामानदेखि लिएर मनोरञ्जनको प्यास मेटाउने स्थलको रुपमा एकाधिकार जमाएको थियो । हाटबजार लाग्ने बारलाई रोजेर देशका धेरै स्थानहरूको नामाकरण गरेको पनि पाइन्छ । यस्ता हाटबजारको कुनै सीमाना थिएन बगर, चौर जतापनि बसाइन्थ्यो । पछि त्यही प्रख्यात नामको स्थान रहन जान्थ्यो ।
सातामा एक पटक वा दुईपटक, पन्ध्रदिन, महिनामा लाग्ने बजारलाई हाटबजार भनिन्थ्यो भने वर्षदिनमा लाग्ने बजार चाहिँ मेलाको नामबाट बुझिन्थ्यो । यो क्रम अझैपनि चलनचल्तीमै छ । मेला तथा महोत्सवमा भने अलिक ठूलै प्रकृतिको हुन्थ्यो र छ । मान्छेको भीड थामिनसक्नुहुन्थ्यो । सामान किन्ने पनि त्यहीदिनको प्रतिक्षामा हुन्थे भने बेच्नेहरू पनि सोहीदिनलाई कुरिरहेका हुन्थे । अनि फुर्सदिला युवायवतीहरू हाटबजार घुमौला शनिबारे हाटैमा गीत गाउँदै केन्द्र पुग्थे । यहिबाट उनीहरूको माया पिरती सुरु हुन्थ्यो ।
ओखलढुङ्गाका साथै रामपुर, रुम्जाटार लगायतका स्थानमा पनि ठूलो बजार लाग्थ्यो । त्यहाँ पनि उस्तै दृष्य दोहोरिन्थे । खोटाङको दिक्तेलबजार, बुईपा लगायतका ठाउँमा मुख्य आर्थिक कारोबार गर्ने एकमात्र स्थानको रुपमा हाटबजार परिचित थियो । किसान आफूले उत्पादन गरेका तरकारी तथा खाद्यान्न बोकेर बजारै पुग्थे । किन्नेहरू पनि पैसा बोकेर हाटबजारतर्फ दौडिन्थे । रामेछापमा त हाट लाग्ने बिहीबारको दिन आसपासका सबै विद्यालय विहान मात्र पढाइ हुन्थ्यो । जुन अहिलेसम्म पनि कायमै छ । विद्यार्थीहरू बजारमा सामान किनबेच गर्न जाने हुँदा दिउसो विद्यालयमा विद्यार्थीहरू नआउने भएकाले विहान विद्यालय सञ्चालन गरिएको जानकारहरू बताउँछन् । यस्ता हाटबजारमा नुनदेखि सुनसम्मको कारोबार हुन्थ्यो । सुदूर पूर्वको कन्काई माइ खोलाको नामले एक महिनासम्म इलामको दानाबारीमा मेला लाग्थ्यो । अहिले भन्दा दन्ते कथाजस्तो हुन्छ । यहि स्थलबाट ग्रामीण जनजीवन धानीएको थियो ।
वास्तवमा हाटबजारहरू गाउँका बजार विकासका टेको हुन् । अहिलेपनि देशका असँख्य स्थानमा हाटबजार र मेला लाग्ने गर्दछ । गाउँका उत्पादन र सीपदेखि सहरका उत्पादनको बजारीकरणमा यस्ता बजारले अहम भूमिका निर्वाह गरिरहेको छ । तर आजभोली यस्ता हाटबजार संकटमा पर्दै गएका छन् । कुनै बेला खुट्टा राख्न समेत नपाइने बजार हिजोआज खाली–खाली हुन थालेको अवस्था छ ।
हाटबजारको इतिहास
हाटबजार कहिलेदेखि सुरु भयो त भन्ने कुनै स्पष्ट र ठोस प्रमाण भेटिँदैन । तर, केहि ऐतिहासिक तथ्यलाई हेर्ने हो भने नेपाल एकीकरणसँगसँगै यसको सुरुवात भएको मान्न सक्ने थुप्रै आधारहरू छन् । पृथ्वीनारायण शाहको एकीकरणको अभियानले बजार पनि केन्द्रिकृत हुन पुग्यो । एकीकरणसँगै विभिन्न स्थानलाई प्रशासनिक कार्य गर्ने अखडाको रुपमा विकास गरियो । जस्तो ओखलढुंगा बजार, रामेछापडाँडा, दिक्तेल बजार चरिकोट आदि । हरेक क्षेत्रको प्रमुख चहलपहल हुने स्थानमा सेनाको टुकडी र गोश्वारा कार्यालय स्थापना गरिएको थियो । यसले वरिपरिका हरेक नागरिक मालपोत तिर्नको लागि तथा अन्य प्रशासनिक कार्यको लागि अड्डामा आउनुपर्नेबवाध्यता भयो । यसरी स्थापना गरिएका ठाउँमा विभिन्न कार्यालयका कर्मचारीहरू हुने र उनीहरूलाई खाद्यान्न तथा अन्य वस्तु चाहिने भएकोले आफ्ना उत्पादनहरू ल्याउनको लागि उर्दी जारी गरे । साथै, कामको लागि अड्डामा जाँदा केही सामग्री लैजाँदा बाटो खर्च पनि धान्न सकिने हुनाले कृषकहरू पनि त्यसप्रति आकर्षित भए । जसले गर्दा हाटबजारको जग बस्यो । प्रायःजसो जिल्लामा लाग्ने हाटबजारको इतिहास साढे दुईसय वर्षसम्म पुरानो हुनसक्ने देखिन्छ ।
ऐतिहासिकरुपमा हेर्दा भने पुँजीवादी उत्पादन प्रणालीको सुरुवातको क्रमदेखि हाटबजारको अवधारणाले गति लिएको मान्न सकिन्छ । हाटबजार सुरु भएपछि वस्तुबाट वस्तु साट्ने विनिमय प्रणाली विस्तारै हट्दै गयो । पैसामा सामान किनबेच हुन थाल्यो । नाफा–घाटाको सोचाई बढ्न थालेपछि मान्छे बजारमा सामान बेचविखन सुरु गरेका मान्न सकिन्छ ।
समाज तथा सँस्कृति परिवर्तनको एउटा झोक्काले हाटबजारलाई पनि हानेको छ । मानवीय सोचाइमा आएको परिवर्तनले पनि भुमिका खेलेको छ । हरेक गाउँ–गाउँमा सूचना प्रविधि पुगेको छ । विकास निर्माणका गतिविधि निकै तीब्र गतिमा छ । जसले गर्दा कुनैबेलामा गुल्जार रहेका हाटबजार एकाएक लोपोन्मुख अवस्थामा पुगेका छन् । जसमा केही सामाजिक र सांस्कृतिक कारणहरू रहेका देखिन्छन् ।
पहिलो, व्यापारको विकेन्द्रीकरण । गाउँ गाउँमा हुँदै गरेको तीब्र गतिको विकासले विकल्पहरू तयार गरिदिएको छ । प्रायः गाविसहरूमा मोटरबाटो पुगेको छ । यसले गर्दा गाउँमा सामाग्री सँकलन गर्नेहरू पेशेवर बनेका छन् । गाउँमा सस्तो मूल्यमा तरकारी किनेर सदरमुकाम तथा बजारमा ल्याएर थप फाइदा लिई बेच्नेले यसैलाई पेशाको रुपमा अगाडि बढाएका छन् । उत्पादन गर्नु भन्दा त्यसलाई ल्याएर बेच्नुमा बढी फाइदा छ । यसैगरी गाउँलेलाई चाहिने, नुनतेल, खाद्यन्न उनीहरूको घरआँगनमै झारिदिने नवव्यापारीहरू पनि बढ्दै गएका छन् । कुनै एक स्थानमा पसल खोल्ने अनि सम्पर्कको आधारमा घर–घरमा सामाग्री निर्यात गर्नेहरू धेरै बढेका छन् । यसले कृषकहरूलाई हाटबजार सँगको सम्बन्धलाई विच्छेद गरिदिएको छ । न त उत्पादन बेच्न आउनुपर्छ न त कुनै आवश्यक पर्ने सामाग्री किन्न नै ।
दोश्रो, हात–हातमा भएको मोबाइल फोनले सबैसँग सबैको सहज पहुँच पुगेको छ । कुनै सामाग्री बेच्नुपरेमा तत्काल फोन गरेमा गाडी लिएर ठेकेदार घरमै आइपुग्छ । अनि कुनै सामाग्री चाहिएमा पनि फोनकै भरमा घरमा सामाग्री झर्छ । बोल्दा पुग्ने भएपछि मान्छे किन हिँड्छ र ?
तेस्रो, हाटबजार लाग्ने स्थानमा सानो–सानो बजारीकरण सुरु भएको छ । यो बस्तीका बासिन्दाले बजार क्षेत्रको जमिन अतिक्रमण गरेका छन् । जसले गर्दा हाटबजारमा सामान राख्ने स्थानकै अभाव हुन थालेको छ । हाटबजार लाग्ने स्थानको बीचबाट धुले मोटरबाटो खनिएका छन् । जसले गर्दा धुलो तथा हिलोको चपेटामा बजार क्षेत्र परेको छ । सामान राख्ने क्षेत्रकै अभावमा हाटबजारमा किनबेच गर्न बजार सम्म पुग्न कोही पनि उत्साहित छैनन् । हाटबजार लाग्ने स्थानमै गुड्ने सवारी साधानको कारण पनि उपभोक्ता तथा बिक्रेताले बजारस्थलमा निकै अप्ठ्यारो भोग्नुपर्छ ।
चौथो, मानवीय सम्बन्ध तथा सोचाईमा आएको परिवर्तन । आजभोलिका किशोरकिशोरी तथा युवायुवती पसलमा बसेर सामान बिक्री गर्नुमा निकै गर्व गर्छन् । तर, डोको तथा बोरामा सामाग्री राखेर हाटबजारमा बसेर सामाग्री बिक्रीबितरण गर्न उनीहरू लाजको अनुभव गर्दछन् । हिनताको भावनाले उनीहरू ग्रसित देखिन्छन् । पहिलो पुस्ता उत्पादन बोकेर बजार सम्म आउन नसक्ने अनि पछिल्लो पुस्ता लाज मान्ने भएपछि हाटबजारमा सामाग्री बिक्री–वितरण गर्न आउनेहरू घट्दै गएका छन् ।
पाँचौ, मायापिरतीको लागि हाटबजारै पुग्नुपर्ने अवस्थामा आएको परिवर्तन अर्को महत्वपूर्ण कारण हो । विगतका दिनमा युवायुवतीलाई भेटघाट गर्नको लागि हाटबजार जतिको सजिलो स्थान अन्यत्र थिएन । सञ्चारको पहँुचता पनि थिएन । त्यसैले कुनै स्थानमा चिनजान भएपछि अर्कोपटक ‘हाटमा भेटौंला है’ भनेर छुटिन्थे । अनि नियमित रुपमा यस्तै हाटबजारमा भेट्नुपर्ने बाध्यता थियो । बजारमा भेट भएपछि एकअर्काको लागि किनिदिने उपाहारजन्य सामाग्रीले बजारको सामाग्री बिक्रीवितरणलाई सघाउ पुरयाउँथ्यो । तर पछिल्लो समयमा बढेको पश्चिमीकरण तथा खुल्लापनले यस्तो अवस्थामा परिवर्तन गरिदिएको छ । आफ्ना भावना साट्नको लागि हरेकको हातमा मोबाईल र सामाजिक सञ्जालका माध्ययम छन् । यहि मोबाइलको सहारामा जतिसुकै समयमा पनि भेट्ने स्थान तय गर्न सक्ने भए । त्यसैले हाटबजारमै भेटघाट गर्नुपर्ने र त्यही उपहार किनेर दिनुपर्ने बाध्यताबाट नयाँपुस्ताले मुक्ति पाएको छ ।
गाउँघरमा ताजा उत्पादन किन्नको लागि अझै पनि हाटबजारको स्पष्ट र ठोस विकल्प तयार भएको छैन । नुन देखि सुन सम्म एकै स्थानमा पाउनको लागि यो भन्दा गतिलो स्थान अन्यत्र छैन । त्यसैले हाटबजारलाई व्यवस्थित गर्नु जरुरी छ । ऐतिहासिक महत्व बोकेका हाटबजार व्यवस्थित गर्नको लागि स्थानीय सरकार अर्थात गाऊँपालिका वा नगरपालिकाले सबैभन्दा महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्नुपर्छ । हरेक गाउँपालिकाले हाटकर असुली गर्ने गरेका छन् । तर कुनै पनि सुविधा दिएका छैनन् । जसले गर्दा हाटबजारमा व्यापारीहरू जान छाड्दै छन् । यदि सामाग्री वेचविखन गर्नको लागि व्यवस्थित टहरा बनाउने हो भने हिलो धुलो तथा अस्तव्यस्तताको कारण बजार आउन छाड्नेहरू पुनः सुरु गर्नेछन् ।
सरकारले बजार विकास निर्देशनालय स्थापना गरेको छ । यसले हाटबजार व्यवस्थित गर्ने जिम्मेवारी पाएको छ । तर यसको भूमिका निष्प्रभावी छ । यसलाई प्रभावकारी बनाउनु जरुरी छ । निर्देशनालयले नै देशभरी कति स्थानमा हाटबजार लाग्छ ? त्यसको अहिलेको अवस्था कस्तो छ ? कति बन्द भए ? आदि जस्ता तथ्याँक सँकलन गर्नुपर्छ । यसैगरी नगर विकास समितिले समेत यसको लागि लगानी गर्नु जरुरी छ । हाटबजारमा जाने सडकमा राँगा, भैंसी तथा बँगुर काटेर मासु बेचिरहेको दृश्य हरेक बजारमा सामान्य भएको छ । यसले गर्दा क्रेताहरूमा समेत हाटबजार जान रहर हुँदैन । यसको लागि हाटबजार लाग्ने स्थानबाट केहि टाढा पशु वधशालाको व्यवस्थापन गर्नु जरुरी छ । हाटबजार व्यवस्थापन गर्नको लागि छुट्टै निर्देशिका नै बनाइ गाउँपालिका विकास समितिलाई यसको मुख्य जिम्मेवारी प्रदान गरी काम गर्ने हो भने ऐतिहासिक हाटबजारको अस्तित्व रहनेछ भन्ने कुरामा दुईमत नहोला ।

प्रकाशित मिति: असार २१ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend