धरानः उदयपुरको रौतामाई नगरपालिका–४ माल्वासेका १३ वर्षीय बालक विशाल सार्कीको भीरबाट लडेर मृत्यु भएको छ ।
घरनजिकै रहेको जङ्ग्रगेडाँडा भीरमा बाख्रा चराउन गएका बालकको आइतबार अपराह्न पौने ५ बजेको समयमा सोही भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । घटनास्थलमा प्रहरी टोली खटी गई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
उता सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका–१ खरीखोलाका ३३ वर्षीय रिन्जी पासाङ शेर्पाको भरयाङबाट लडेर मृत्यु भएको छ ।
सोताङ गाउँपालिका ५ स्थितमा रहेको वीरेन्द्रज्योति माध्यामिक विद्यालयको निर्माणाधीन भवनको मिस्त्री काम गरी सोही स्थानमा नै कोठामा बस्दै आएका रिन्जी आइतबार राति ११ बजे भरयाङबाट लडेर कञ्चटमा चोट लागेर गम्भीर घाइते भएका थिए ।
घाइतेलाई उपचारको लागि प्राथमिक स्वास्थ्य चौकी सोताङमा लगिएकोमा उपचारको क्रममा राति सवा १२ बजे मृत्यु भएको हो । घटनास्थलमा इलाका प्रहरी कार्यालय सोताङबाट प्रहरी टोली खटी गई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।