Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानलगायत सुनसरीबाट २३ गतेदेखि गाडी चल्ने

हाम्रो कोशी आवाज
असार २१ २०७८, सोमबार
धरानलगायत सुनसरीबाट २३ गतेदेखि गाडी चल्ने

धरानः अन्ततः सुनसरीमा निषेधाज्ञा थप खुकुलो भएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले असार ३१ गतेसम्म निषेधाज्ञा थपेर केही खुकुलो बनाएको हो ।
निषेधाज्ञा थप खुकुलो भएसँगै सार्वजनिक र निजी सवारी सञ्चालन हुने भएका छन् । जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञालाई असार ३१ गतेसम्म लम्ब्याएपनि जोर–बिजोरका आधारमा सार्वजनिक सवारी सञ्चालन गर्न दिने भएको हो ।
प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको अध्यक्षतामा बसेको डिसिसीएमसीको बैठकले सो निर्णय गरेको हो । १० औं पटक निषेधाज्ञा अवधि थप गरिएको सुनसरीमा विस्तारै दैनिकीलाई सहज स्थितिमा फर्काउने तयारी थालिएको जनाइएको छ ।
जिल्ला प्रशासन कार्यालय सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी मतथा सूचना अधिकारी महेशकुमार पोख्रेलले सबै किसिमका पसलहरु बिहान ५ बजेदेखि ६ बजेसम्म सञ्चालन गर्न दिने र सार्वजनिक र निजी सवारी साधन जोर–बिजोर प्रणाली लागू गर्ने निर्णय सोमबार बसेको बैठकले निर्णय गरेको जानकारी दिए । उनले जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बरका सवारी सञ्चालन हुने व्यवस्था मिलाइएको बताउँदै झापा र मोरङसँग पनि यातायात सञ्चालनबारे समन्वय भइसकेकाले त्यसतर्फ जान पनि समस्या नहुने बताएका छन् ।
यस्तै, प्रशासनले राजमार्ग छेऊछाउका होटल पनि सञ्चालन गर्न दिने निर्णय भएको उनले जानकारी दिए । ‘बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म ती होटल, रेष्टुरेण्ट सञ्चालन हुन पाउँछन् ।’ हाम्रो कोशी आवाज डटकमसँगको कुराकानीमा उनले भने ।
कोभिड १९ महामारीको दोस्रो लहर शुरु भएपछि सुनसरीमा पहिलोपटक वैशाख १३ गते राति १२ बजेदेखि निषेधाज्ञा लगाइएको थियो ।
यसअघि ४ बजेसम्म मात्र पसलहरू खुल्ला गर्ने निर्णाय प्रशासनले गरेको थियो । शैक्षिक संस्था, सैलुन, ब्युटी पार्लर, जिमलगायतका खेलकुद, गुद्री, साप्ताहिक हाटबजार सञ्चालन गर्न भने पाउने छैन । संक्रमणको जोखिम यथावतै रहेकोले बालबालिका भेला हुने विद्यालय भने बन्द नै रहने भएका हुन् । बाँकी क्षेत्रमा समेत स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउनुपर्नेछ ।
सरकारी, सार्वजनिक संस्थान, बीमा लगायतका कार्यालयहरुले स्वास्थ्य मापदण्डको पूर्णरुपमा पालना गरी भीडभाड नगराइ आलोपालो प्रणाली अपनाइ सञ्चालन गर्न दिने भएको छ । सभा, सम्मेलन, सेमिनार, गोष्ठी, जुलुस लगायतका कार्य गर्न रोक लगाइएको छ भने घर बाहिर निस्कदा मास्क अनिवार्य लगाउनुपर्नेछ ।

प्रकाशित मिति: असार २१ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend