धरानः चिनियाँ स्याउ तस्करी प्रकरणमा छानबिनका लागि गठित प्रहरीको टोलीले चारजना प्रहरीलाई दोषी ठहर गर्दै कारवाही गरेको छ ।
नाका सिल रहेको अवस्थामा लाखौं मूल्य पर्ने १ हजार ३५० कार्टुन चाइनिज स्याउ बोकेर तीन वटा नेपाली ट्रक सजिलैसँग भारतीय भूमि पुगेका थिए ।
तस्करी प्रकरणमा जोडिएका सुनसरीका चार प्रहरीलाई कारवाही गरेको जनाएको छ । प्रदेश १ प्रदेश प्रहरी कार्यालयको रिजनल इन्भेस्टिगेसन टिम ‘रिट’ शाखामा कार्यरत प्रहरी नायब निरीक्षक (सई) किरण मोक्तान, प्रहरी चौकी हरिपुर सुनसरीमा कार्यरत प्रहरी सहायक निरीक्षक भूपराज पोखरेल, सुनसरीको श्रीपुर जब्दी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक टेकबहादुर कार्की र सोही कार्यालयमा कार्यरत प्रहरी हवल्दार वीरेन्द्रकुमार यादवलाई विभागीय कारबाही गरेको प्रदेश १ प्रहरी प्रमुख डिआइजी अरुणकुमार बिसीले बताए ।
सुनसरीको नाकाबाट तस्करी गरी भारत पुरयाइएको चाइनिज स्याउको सम्बन्धमा अनुसन्धान गर्न प्रहरीले गठन गरेको छानबिन टोलीले चारजनालाई कारबाहीको सिफारिस गरेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृतरप्रहरी प्रवक्ता प्रहरी उपरीक्षक स्( नविनराज राईले जानकारी दिए ।
भारतीय प्रहरीले जेठ ३० गते तस्करी गरेर लगिएको तीन ट्रक चाइनिज स्याउ बरामद गरेपछि त्यसबारे अनुसन्धान गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीले छुट्टाछुट्टै छानबिन टोली गठन गरेका थिए । स्याउ तस्करी काण्डको अनुसन्धान गर्न गठित टोलीले १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरमा प्रतिवेदन बुझाएको थियो ।
अनुसन्धान टोलीका संयोजक एसएसपी राजेन्द्रप्रसाद चौधरीका अनुसार जेठ २९ गते राति सुनसरीको हरिपुरचोकको बाटो हुँदै लौकही नाकाबाट चाइनिज स्याउ बोकेका तीनवटा नेपाली नम्बरका ट्रक भारतसम्म पुगेको पाइएको छ ।
घटनापछि सीमा प्रहरी चौकी भण्टाबारीका तत्कालीन इञ्चार्ज सई गंगा थापा, अस्थायी प्रहरी चौकी श्रीपुरका असई टेकबहादुर कार्की र अस्थायी प्रहरी चौकी कोशी कटानका असई आशनारायण चौधरी निलम्बनमा परेका थिए ।
प्रहरीका अनुसार गत जेठ २९ गते सुनसरीको कोसी गाउँपालिका हुँदै ना ६ ख १५१२, ना ६ ख १८९५ र प्रदेश १ –०२–००१ ख ८०४१ नम्बरका ट्रकमा सुनसरीको कोसी गाउँपालिकाको लाही नाका हुँदै स्याउ भारत प्रवेश गराइएको थियो । तीमध्ये ना ६ ख १८९५ नम्बरको ट्रक विराटनगरमा, ना ६ ख १५१२ ट्रक जनकपुरमा र प्रदेश १–०२–००१ ख ८०४१ नम्बरको ट्रक सप्तरीको कञ्चनपुरमा लोड भएको थियो ।
तस्करी प्रकरणमा तत्कालीन डिआइजी ईश्वरबाबु कार्की र सुनसरी प्रहरी प्रमुख कमल थापाको पनि नाम जोडिएको चर्चा चलेको थियो । दुवै जनाको सरुवा भइसकेको छ । तर प्रदेशले उच्च पदस्थमाथि छानबिन नगरेपनि प्रहरी प्रधान कार्यालयले छानबिन गर्न सक्ने डिआइजी बिसीले बताए ।