Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

बराह एग्रोद्वारा ८ सय घरधुरीका बासिन्दालाई विस्थापित

हाम्रो कोशी आवाज
असार २३ २०७८, बुधबार
बराह एग्रोद्वारा ८ सय घरधुरीका बासिन्दालाई विस्थापित

धरानः जनता समाजवादी पार्टी निकट भातृसङ्गठन नेपाल सुकुम्बासी व्यवस्थापन सङ्घले उदयपुर जिल्ला बेलका नगरपालिका कबुलियती वन विवादको आन्दोलनरत पक्षको समर्थन गरेको जनाएको छ ।
नेपाल सुकुम्बासी व्यवस्थापन संघ प्रदेश १ का मुख्य सचिव महेशचन्द्र राजवंशीद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा समर्थन गरिएको जनाइएको छ ।
उदयपुर जिल्लाको बेलका नगरपालिका वडा नं ३ कोशी उकास क्षेत्रमा विगत ४० वर्षदेखि बसोबास गर्दै आइरहेका ८ सय घरधुरीलाई विस्थापित गरी कबुलियती वनको नाममा १७५.२३ हेक्टर जग्गा ब्यक्तिलाई ३० वर्षका लागि लिजमा दिने सरकारको निर्णयप्रति सङ्गठनको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।
हर्वल एण्ड एग्रो प्रालिलाई दिने निर्णयले हजारौं बासिन्दालाई सरकार विस्थापित गर्न खोजेको आरोप लगाइएको छ । सो निर्णय फिर्ता लिन माग गर्दै फिर्ता नभए सुकुम्बासी संघ जस्तोसुकै मूल्य चुकाउन तयार रहेको चेतावनी समेत दिइएको छ ।
सङ्घीय वन मन्त्रालयको प्रस्तावमा सरकारले गत जेठ ६ गते व्यावसायिक कबुलियतीको नाममा बराह हर्बल एन्ड एग्रो प्रालिलाई ५१ दशमलव २३ हेक्टर र सेफवे टेक्नोलोजी ललितपुरको नाममा एक सय २५ हेक्टर क्षेत्र व्यावसायिक कबुलयिती वन ३० वर्षका लागि दिने निर्णय गरेको थियो ।
बेलका नगरपालिका-३ को सप्तकोशी नदी उकास जग्गालाई डिभिजन वन कार्यालय, एक नम्बर प्रदेश वन मन्त्रालय हुँदै संघीय वन मन्त्रालयको पस्तावमा गत ०७८ जेठ ६ गते एक सय७६ हेक्टर क्षेत्रफल जमिन कबुलियती वन बनाउने मन्त्रिपरिषद्ले निर्णय गरेको थियो ।
बेलका नगरपालिकास्थित नगरपालिकाको परिसर क्षेत्रमा स्थानीय जनता र प्रहरीबीच झडप समेत हुँदै आएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार नगरपालिका क्षेत्रसहित नगरको वडा नम्बर ३ को झण्डै १२६ हेक्टर जग्गालाई हालै नेपाल सरकारले कबुलियत वन बनाउने निर्णय गरेर वन बनाउन प्रक्रिया सुरु हुँदा सो जग्गामा बसोवास गर्दै आएका जनताले नगरपालिका घेर्ने समेत काम गर्दै आउँदा झडप हुँदै आएको हो ।
सरकारी जग्गामा लामो समयदेखि बसोवास गर्दै आएका जनताले जग्गाको लालपूर्जा आफूहरुले पाउनुपर्ने माग गर्दै आएका छन् ।
नगरपालिकाले भने सो जग्गा पहिलेदेखि नै सरकारी रहेको र मन्त्रिपरिषद्ले नै कबुलियत बन बनाउने निर्णयसहित कार्य अगाडि बढाएको जनाएको छ ।
बराह हर्बलका अध्यक्ष नीलहरि काफ्लेको निवेदनमा २०७७ पुस २९ गतेबाट सम्भाव्यता अध्ययन शुरू गरेको डिभिजन वन कार्यालय उदयपुर, प्रदेश वन निर्देशनालय एक नम्बर प्रदेश उद्योग पर्यटन तथा वन मन्त्रालय, वन विभाग हुँदै पक्रिया अघि बढेको थियो ।
सो निर्णयपश्चात् त्यस क्षेत्र र आसपासमा बसोबास गर्दै आएका स्थानीयहरू बस्ती उठाउन वनोजेको भन्दै आन्दोलित हुँदै आएका हुन् । सो क्षेत्र लगायत नगरभरि बसोबास गर्दै आएका अव्यवस्थित र भूमिहीन जनतालाई पुर्जा दिनेगरी नगरपालिकाले जग्गाको नापजाँच गरिसकेको छ ।
व्यावसायिक कबुलियतीको चार किल्ला पूर्वमा पौरवनी सामुदायिक वन, पश्चिममा एवीसी टापु जाने बाटो उत्तरमा रामपुर जानेबाटो र दक्षिणमा गिदेररी दोभान जाने बाटो कायम गरिएको छ ।

प्रकाशित मिति: असार २३ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend