धरानः धरानमा प्रहरीले लागूऔषध र ब्राउन सुगरसहित तीनजनालाई पक्राउ गरेको छ ।
लागूऔषधसहित पक्राउ पर्नेमा धनकुटा-६ का २१ वर्षीय सुमन कार्की र धनकुटा-९ बस्ने २१ वर्षीय सुदीप राई रहेका छन् ।
यस्तै, ४ ग्राम ब्राउन सुगरसहित धरान-८ बाट एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धरान-८ का सन्तोष लिम्बू रहेका छन् । इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीले पक्राउपछि उनीहरुमाथि मुद्दा दर्ता भइसकेको जानकारी दिए ।
मङ्गलबार ७ बजे विशेष सूचनाको आधारमा १ नं. प्रदेश प्रहरी कार्यालय क्षेत्रीय अनुसन्धान समूह र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
लागूऔषधसहित पक्राउ परेका धनकुटाका युवा धरानको तीनकुने नभई अर्को बाटो (धरान-६ पानबारी जाने जङ्गल) हिँडेका थिए । ‘खासमा उनीहरु पानबारीको बाटो हुँदै धरान–१५ तर्फ आउने तयारीमा रहेछन्’, प्रहरी निरीक्षक ओलीले भने, ‘चेकजाँचमा पक्राउ परिहाले ।’
इटहरीबाट धरानतर्फ आउँदै गरेको प्र १–०६–००१प००१८ नम्बरको मोटसाइकलमा चेकजाँच गर्दा सवार कार्की र राईको साथबाट लागूऔषध डाइजेल्याप ५ एम्पुल, लुपिजेसिक ५ एम्पुल, एभिल ५ एम्पुल र फेनर्गन ५ एम्पुल बरामद भएको प्रहरीले जनाएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै, वर्ष २५ को सन्तोषको घरकोठा तलासी गर्दा किचन कोठामा लुकाइछिपाइ राखेको मान्यताप्राप्त तराजुमा तौल गर्दा जम्मा ४ (चार) ग्राम ब्राउन सुगर फेला पारेको प्रहरीले जनाएको छ ।