बेलबारीः मोरङको बेलवारी नगरपालिका १ गाईघाट टोलस्थितबाट लागूऔषध ब्राउनसुगरसहित तीनजनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा सोही स्थानका ४६ वर्षीय वुद्धिमान तामाङ र धनकुटा हिलेका दुईजना युवती रहेको प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिए ।
बिहीबार बेलुका साढे ५ बजे लागूऔषध ब्राउन सुगरको कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले तामाङकै घरबाट तामाङसहित तीनजनालाई लागूऔषध ब्राउनसुगर सेवन गरिरहेको अवस्थामा पक्राउ गरेको थियो ।
प्रहरीले तामाङको घरमा खानतालासी गर्दा धानको भकारीभित्र लुकाइराखेको लागूऔषध ब्राउनसुगर १३ ग्राम ५४० मिलिग्राम फेला पारेको छ । पक्राउ परेका तीनैजना उपर इलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक राईले जानकारी दिए ।