सुनसरीः सुनसरी जिल्ला अदालतबाट लागूऔषध मुद्दामा दोषी ठहर भई फरार रहेका दुई प्रतिवादीलाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा सुनसरी इटहरी–२ का २८ वर्षीय विकास कार्की र मोरङ कानेपोखरी–३ का ४१ वर्षीय लक्ष्मण सार्की रहेका छन् ।
फरार प्रतिवादी खोजतलास अभियानअन्तरगत १ नम्बर प्रदेश प्रहरी कार्यालय अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेका लक्ष्मणलाई जिल्ला अदालतबाट मिति २०७३ साल भदौ ४ गते ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना तोकिएकोमा उनी फरार रहँदै आएका थिए ।
यसैगरी पक्राउ परेका अर्का विकासलाई पनि सुनसरी जिल्ला अदालतबाट मिति २०७३ साल भदौ २७ गते १ वर्ष कैद र ७ हजार रुपैयाँ जरिवाना तोकिएकोमा उनि पनि फरार रहँदै आएका थिए । फरारपश्चात पक्राउ परेका दुवै जनालाई सुनसरी जिल्ला अदालतमा दाखिला गराई कैद तथा जरिवाना असुलउपरको लागि क्षेत्रीय कारागार झुम्का पठाइएको छ ।