धरानः इटहरी उपमहानगरपालिका–६ बाट नियन्त्रित लागूऔषध ब्राउनसुगरसहित चारजना पक्राउ परेका छन् ।
सो स्थानमा रहेको एक होटलमा लागूऔषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालयको अनुसन्धान समूह र इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले ब्राउनसुगर सहित शनिबार राति पौने १२ बजे ४ जनालाई पक्राउ गरेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिए ।
पक्राउ पर्नेहरुमा बारा जिल्ला निजगढ नगरपालिका–१२ घर भई इटहरी उपमहानगरपालिका–५ बस्दै आएका २७ वर्षीय दीपक भन्ने वीरेन्द्र राई, इटहरी–५ का १६ वर्षीय १ बालक र इटहरी–४ का १८ वर्षीय जोन चौलागाई रहेका छन् । निजहरुको साथबाट प्रहरीले ५६ ग्राम २०० मिलिग्राम लागूऔषध ब्राउनसुगर, तौल नाप्ने डिजिटल उपकरण १ थान, विभिन्न कम्पनीको मोबाइल ३ थान, मोटरसाइकल १ थान र नगद रु. २ हजार समेत बरामद गरेको छ ।
पक्राउ परेका उनीहरुलाई सोधपुछ गर्ने क्रममा इटहरी ४ का २३ वर्षीय विवेक खड्काको समेत संलग्नता रहेको खुल्न आएसँगै खड्कालाई समेत २९ ग्राम ८०० मिलीग्राम ब्राउनसुगर र १ थान मोबाइलसहित पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।