इलामः उच्च अदालत विराटनगर, इलाम इजलासको परिसरभित्र मृत फेला परेकी महिलाको हत्या भएको पुष्टि भएको छ ।
जिल्ला सोलुखुम्बु, सल्यान गाउँपालिका घर भई इलाम नगरपालिका–७ मा भाडामा बसोबास गरी सोही कार्यालयमा कार्यरत ४८ वर्षीया विमला देवी निरौला पराजुली २८ गते सोमबार बिहान अन्दाजी ७ बजेको समयमा कार्यालय परिसरमा मृत फेला परेकी थिइन् ।
एकजना महिला मृत अवस्थामा रहेको भन्ने सूचना पाएलगत्तै जिल्ला प्रहरी कार्यालय इलामबाट प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठसहितको प्रहरी टोलीले घटनाको बारेमा अनुसन्धान शुरु गरेको र थप अनुसन्धानको लागि संघीय प्रहरी इकाई धरानबाट तालिमप्राप्त कुकुरसहितको विशेषज्ञ टोली झिकाई अनुसन्धान गर्ने क्रममा सोही कार्यालयमा सुरक्षा गार्डको रुपमा कार्यरत ३५ वर्षीय युवराज बानियाँको संग्लग्नता रहेको देखिएसँगै बानियाँलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिए ।
पक्राउ परेका बानियाँले सो घटनामा आफ्नो संग्लग्नता रहेको स्वीकार गरेको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । ‘उनले घाँटी थिचेर हत्या गरेको भनी स्वीकार गरेका छन्,’ श्रेष्ठले भने, ‘पोष्टमार्टम रिपोर्ट आइनसकेकाले मृत्युको कारण पुष्टि भइसकेको छैन ।’




