Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

दैनिक उपभोग्य वस्तुको मूल्यमा उच्च वृद्धि

हाम्रो कोशी आवाज
असार ३१ २०७८, बिहिबार
दैनिक उपभोग्य वस्तुको मूल्यमा उच्च वृद्धि

धरानः चालु आर्थिक वर्षको ११ औँ महिनामा आइपुग्दा दैनिक उपभोग्य वस्तुको मूल्यमा उच्च वृद्धि देखिएको छ। अघिल्लो वर्ष २०७७ जेठको तुलनामा २०७८ जेठमा घ्यू तथा तेलको मूल्यमा ३०.९८ प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ।
केन्द्रीय बैंकले बिहीबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय प्रतिवेदन अनुसार उच्च मूल्य वृद्धि भएका अन्य क्षेत्रहरूमा सुर्तीजन्य पदार्थ, गैर–मदिराजन्य पेय पदार्थ र यातायात उपसमूह रहेका छन्। जसको मूल्य वृद्धि क्रमशः ९.८४ प्रतिशत, ९.८१ प्रतिशत र ९.७० प्रतिशत रहेको छ ।
त्यसैगरी, २०७८ जेठमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.१९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.५४ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.२२ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.६३ प्रतिशत रहेको छ ।
समीक्षा महिनामा काठमाडौं उपत्यकामा ३.८७ प्रतिशत, तराईमा ४.४७ प्रतिशत, पहाडमा ४.३२ प्रतिशत र हिमालमा १.७२ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७७ जेठमा यी क्षेत्रहरूमा क्रमशः ४.४३ प्रतिशत, ४.८६ प्रतिशत, ४.१३ प्रतिशत र ४.३४ प्रतिशत मुद्रास्फीतिरहेको थियो ।
२०७८ जेठमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ९.०० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.९६ प्रतिशत रहेको थियो। समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ९.६५ प्रतिशत, ९.५३ प्रतिशत र ३.९२ प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्यवृद्धि ८.१६ प्रतिशत रहेको छ ।
मूल्यको अनुपातमा ज्याला भने बढेको छैन। २०७८ जेठमा वार्षिक बिन्दुगत तलब तथा ज्याला दर सूचकाङ्क १.९८ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त सूचकाङ्क ७.४० प्रतिशतले बढेको थियो । समीक्षा महिनामा ज्यालादर सूचकाङ्क २.५६ प्रतिशतले बढेको छ । जसले गर्दा निम्न वर्गका मानिसहरुको जनजीवन र जीविका अत्यन्त कष्टकर बन्ने देखिएको छ।

प्रकाशित मिति: असार ३१ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend