विराटनगरः झापा र उदयपुरका दुई छुट्टाछुट्टै स्थानबाट नियन्त्रित लागूऔषध ब्राउनसुगरसहित ५ जना पक्राउ परेका छन् ।
शनिबार दिउँसो इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका–३ का ३० वर्षीय प्रफुल राजंशीलाई २ ग्राम २३० मिलिग्राम नियन्त्रित लागूऔषध ब्राउनसुगरसहित पक्राउ गरेको हो ।
राजवंशीको साथबाट प्रहरीले लागूऔषधसहित डिजिटल काँटा १ थान, नगद. ५,२३० रुपैयाँ र विभिन्न कम्पनीको ४ थान मोबाइल समेत बरामद गरेको छ ।
यसैगरी उदयपुरको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी टोलीले बेलका नगरपालिका–९ बाट लागूऔषध ब्राउनसुगरसहित ४ जनालाई पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले शनिबार राति १० बजे ७५ मिलिग्राम लागूऔषध ब्राउनसुगरसहित स्थानीय ३६ वर्षीय दिनेश खड्का, बेलका नगरपालिका–२ का ३७ पर्षीय विनोद परियार, बेलका नगरपालिका–७ का २८ वर्षीय मेजरमान राई र २९ वर्षीय बोगटी भनिने जीवन राईलाई पक्राउ गरेको हो । लागूऔषधसहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
भरुवा बन्दुकसहित पक्राउ
पाँचथरको फिदिम नगरपालिका–९ लुम्फाबुङका ३० वर्षीय शुक्रराज राई भरुवा बन्दुकसहित पक्राउ परेका छन् । प्रहरी चौकी नवमीडाँडाबाट खटिएको प्रहरी टोलीले शनिबार दिउँसो लोड भएको १ थान भरुवा बन्दुकसहित राईलाई पक्राउ गरेको हो । हतियारसहित पक्राउ परेका राईको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यस्तै, झापाका दुई छुट्टाछुट्टै स्थानबाट अन्दाजी ७ लाख ७५ हजार रुपैयाँ बराबरको अवैध सामान बरामद भएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका–४ आमडागीबाट शनिबार राति साढे ९ बजे अन्दाजी २ लाख ७५ हजार रुपैयाँ बराबरको जुस, लत्ता कपडा र सुर्तीजन्य पदार्थ बराबद गरेको हो ।
यसैगरी इलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले शनिबार राति पौने ११ बजे मेचीनगर नगरपालिका–६ बाट भारतबाट नेपालतर्फ अवैध रुपमा भित्र्याउदै गरेको अन्दाजी ५ लाख रुपैयाँ बराबरको कपडा बरामद गरेको छ । अवैध रुपमा बरामद भएको समानहरु आवश्यक कारवाहीको लागि भन्सार कार्यालय काकडभिट्टा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
