धरानः अपहरण तथा शरीर बन्धकको आरोपमा प्रहरीले सुनसरीको इटहरीबाट तीनजनालाई पक्राउ गरेको छ ।
सुनसरीः अपहरण तथा शरीर बन्धकको आरोपमा प्रहरीले इटहरीबाट तीनजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा इटहरी–७ का २५ वर्षीय सङ्गीत थापा, १९ वर्षीय अनिष कार्की र इटहरी-८ का २३ वर्षीय सिद्धार्थ राई पक्राउ परेका छन् । उनीहरूले स्थानीय इटहरी–४ का २२ वर्षीय निर्मल श्रेष्ठलाई कुटपिट गरिरहेको अवस्थामा फेला पारेको सुनसरी प्रहरी प्रमुख एसपी सञ्जयसिंह थापाले जानकारी दिए । ‘घटनास्थलमा प्रहरी पुग्दा तीनजना मिलेर कुटपिट गरिरहेको अवस्थामा फेला पारेका हौं’, उनले भने, ‘उनीहरुलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालिएको छ ।’
श्रेष्ठलाई इटहरी–८ फूलबारी टोलमा पुरयाएर आँखामा पट्टी बाँध्दै कुटपिट गर्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो । पैसा फिर्ता नदिएको झोकमा उनलाई अपहरण गरेर कुटपिट गरेको खुलेको प्रहरीले जनाएको छ ।
गत बिहीबार दिउँसो १ बजेतिर इटहरी-९ बाट श्रेष्ठलाई नियन्त्रणमा लिएर अपहरण गर्दै नम्बर थाहा नभएको सिटी सफारीमा राखेर लगेको र रातभर सङ्गीत थापाको कोठामा बन्धक बनाएर राखिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । भोलिपल्ट शुक्रबार बिहान थापाको कोठाबाट हिँडाउँदै केही पर लगेर कुटपिट गरेको पाइएको छ ।
पक्राउ परेका तीनै जनाविरुद्ध परेको अपहरण तथा शरीर बन्धक सम्बन्धी जाहेरीका आधारमा शुक्रबार अदालतबाट म्याद थप गरेर घटनाको बाँकी अनुसन्धान अघि बढाइएको एसपी थापाले बताए । पीडित श्रेष्ठले पनि प्रहरीमा जाहेरी दिएका छन् । श्रेष्ठलाई लागूऔषध ल्याउनका लागि भन्दै रकम दिएको र लागूऔषध नल्याएपछि यो घटना घटेको प्रहरीले जनाएको छ ।