Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा के साँच्चै लकडाउन होला ?

हाम्रो कोशी आवाज
साउन ९ २०७८, शनिबार
धरानमा के साँच्चै लकडाउन होला ?

धरानः अब पनि निषेधाज्ञा थपिएला कि नथपिएला, अबको निषेधाज्ञा कस्तो होला कि पुरै लकडाउन नै पो होला कि ? धेरैको जिज्ञासा यही छ ।
सुनसरीमा अहिले पनि निषेधाज्ञा जारी नै छ । सबै नागरिकको साझा प्रश्न हो – के होला र कस्तो होला अबको निषेधाज्ञा ?
यही प्रश्न हामीले सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाललाई सोध्यौं । उनका उत्तर थियो ।
‘थपिन्छ, त्यसमा पनि धरानमा केही ‘टाइट’ हुनसक्छ ।’
सुनसरीमा निषेधाज्ञा थपिएको समयको म्याद भोलि (१० गते) सकिँदैछ । प्रशासनले असार ३१ देखि थपेर १० गतेसम्म निषेधाज्ञा जारी गरेको थियो । ‘भोलि नै बैठक बसिहाल्छ, हामी छलफलमा बसेर कति दिन र कसरी गर्ने भन्ने विषयमा निर्णय गर्ने छौं,’ प्रजिअ ढकालले भने ।
दोस्रो लहरमा कोरोना भाइरसका सङ्क्रमित संख्या बढेपछि त्यसलाई रोकथाम तथा नियन्त्रण गर्ने आवश्यक कदम चाल्ने अधिकार जिल्ला प्रशासन कार्यालय प्रमुखलाई दिएको छ । त्यसैले पनि प्रमुख जिल्ला अधिकारी ढकालको उत्तरले धरानलगायत सुनसरीमा निषेधाज्ञा थप हुने स्पष्ट गर्छ ।
आज शनिबार विदाको दिन भएकोले बैठक बस्न नसकिएकोे निषेधाज्ञाको निर्णय हुन नसकेको सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी महेशकुमार पोख्रेलले जानकारी दिए । ‘भोलि बस्ने जिल्ला कोभिड सङ्कट व्यवस्थापन समिति (डीसीसीएमसी) को बैठकले मार्गनिर्देशक गर्छ ।’
उनका अनुसार धरानमा केही ‘टाइट’ गर्ने विषयमा गम्भीर ढङ्गले छलफल भइरहेको उनले जानकारी दिए । ‘खासमा धरानमा निकै गुनासो आइसकेको छ भन्ने मेयर, उपमेयरबाट जानकारी आइसकेको छ’, उनले भने, ‘छलफलबाट निर्णयमा पुग्छौं ।’
पहिलो चरणमा सब्जी पसलमा अत्याधिक भीड हुने हुनाले त्यहाँ बन्द गरौं भन्ने गुनासो आएको हुनाले त्यसो पनि गर्न सकिने उनले बताए । ‘सर्वसाधारणले सबैभन्दा बढी प्रयोग गर्ने भनेकै तरकारी हो, त्यहाँ अत्याधिक भीडभाड हुने गरेको देखियो’, उनले भने, ‘त्यहीबाट कोरोना फैलिन सक्छ भन्ने नै हो, त्यही भएर तरकारी बजार बन्द गरेर हेरौं भन्ने हो ।’
शुक्रबार सडकमै गरिएको एन्टिजेन परीक्षणमा धरान-९ स्थित सब्जीमण्डीमा ३७ जनामा गरिएको परीक्षणमा एकजना र अन्य ठाउँमा गरिएको परीक्षणमा दुईजनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहताले जानकारी दिए ।
धरानका मेयर तिलक राई र उपमेयर मञ्जु भण्डारी सुवेदीले पनि लकडाउन नहोस् भनेर धरानबासी आफैं सतर्क रहनुपर्ने भन्दै आएका छन् । यसैबीच धरानमा मास्क वितरणलगायत प्रचारप्रसार अभियान पनि चलिरहेको छ । ‘धरानबासी सचेत नहुने हो भने लकडाउन गर्नैपर्ने हुन्छ, नत्र कोरोना नियन्त्रणमा हम्मे पर्छ’, मेयर राईले भने, ‘त्यसैले यस विषयमा थप सतर्क बन्दै आएका छौं ।’
संक्रमित बढेका छन्, सरकार रमिते बन्यो भनेर गुनासो आएको बताउँदै उनले फोन सम्पर्कमा भने, ‘हामी रमिते बनेका छैनौं, यसो गर्दा पो हुन्छ कि उसो गर्दा पनि हुन्छ कि भनेर लागेकै छौं, तरपनि लकडाउन नै विकल्प होइन भन्ने पनि छन्, पसलहरु भर्खरै खुल्न थालेको र बन्द गरिहाल्न हुँदैन भन्ने पनि रायहरु आइरहेको छ, सबैको राय, सल्लाह, सुझाव लिएर अघि बढ्छौं ।’
उनले तरकारी बजार नै बढी भीडभाड हुने क्षेत्र भएकोले २–४ दिन हेरिने बताए । ‘अहिले पनि हामीले तरकारी बजारलगायत भीडभाड हुने क्षेत्रमा अनुगमन, सतर्क गराउने, मास्क वितरण गर्नेलगायतका काय गर्दै आएका छौं तर सतर्क बन्दैनन् भने त विकल्प सोंच्नैपर्छ ।’
उनले यसअघिका लकडाउनमा जस्तो नियम पालना नगर्ने बढी रहेको बताए । ‘पहिलाको जस्तो गोलो घेरामा नबस्ने पनि छैनन्, मास्क नै लगाउँदैनन्, पसलहरुमा पनि अत्याधिक भीडभाड हुने गरेको छ, अनि कहाँबाट हुन्छ कोरोना नियन्त्रण, यस्ता कुरामा सबै नागरिकको पनि साथ चाहिन्छ ।’
सुनसरीमा अहिले संक्रमित बढ्दै गएको पाइएको छ । धरानमा दिनहुँजसो ७० देखि माथि संक्रमित थपिइरहेका छन् । दोस्रो लहरयता सुनसरीमा करिब ४ हजार बढीमा संक्रमण पुष्टि भइसकेको छ ।

प्रकाशित मिति: साउन ९ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend