Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा एसइई लेखिसकेका विद्यार्थीले सामाजिक सञ्जालबारे बोले

हाम्रो कोशी आवाज
साउन ११ २०७८, सोमबार
धरानमा एसइई लेखिसकेका विद्यार्थीले सामाजिक सञ्जालबारे बोले

धरानः माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरेर रयाडिकल लाइट नेपाल प्रा.लि. धरानले आयोजना गरेको एसइई स्पिकर धरान–२०७८, सिजन–१ अन्तर्गत शनिबार भएको सेमिफाइनलबाट उत्कृष्ट ७ जना छनोट भएका छन् ।
धरान उप–महानगरपालिका १३ नम्बर वडा कार्यालय परिसरमा रहेको ज्येष्ठ नागरिक तथा वडा बाल सञ्जालको हलमा भएको सेमिफाइनलबाट फाइनलमा प्रवेस गर्नेहरुमा चन्द्र संस्कृत माविका दिपेन भण्डारी, शारदा बालिका नमूना माविकी रेजिना विक, शिक्षा सन्देश आवासीय माविका मौसम पराजुली, ज्वालामुखी माविका अंकित ढुङ्गाना रहेका छन् ।
त्यस्तै, अन्य फाइनलमा प्रवेश गर्नेहरुमा सरस्वती माविका अभिषेक राई, पब्लिक मावि फुश्रेका विनोद काफ्ले र हिविस्कस बोर्डिङ स्कुलका सदीक्षा राई रहेका छन् ।
गत श्रावण २ गते भएको पहिलो चरणबाट २३ जना सहभागीमध्ये उत्कृष्ट १५ जना सेमिफाइनलमा प्रवेश गरेका थिए ।
‘सामाजिक सञ्जालले विद्यार्थीलाई पारेको प्रभाव’ शीर्षकमा अधिकांश सहभागीहरुले सामाजिक सञ्जालको सदुपयोग गर्दा धेरै राम्रो र सकारात्मक प्रभाव परेपनि आजभोली दुरुपयोग धेरै हुन थालेकोले विद्यार्थीलाई नकारात्मक प्रभाव पारी गम्भीर प्रकारका दुर्घटना निम्त्याएको बताएका छन् ।
प्रालिका प्रबन्धक हिमाल कार्कीको अध्यक्षतामा भएको प्रतियोगिताका निर्णायकहरुमा महेन्द्र बहुमुखी क्याम्पसका उप–प्राध्यापक राजेश विद्रोही र समता स्कुल इटहरीका शिक्षक जेपी काफ्ले रहेका थिए ।
प्रतियोगिताको विजेताले नगद ८ हजार रुपैयाँसहित राजधानीस्थित जेभियर इन्टरनेशनल कलेजमा प्लस टु अध्ययनका लागि पूर्ण छात्रवृत्ति पाउनेछन् भने धरानमा अध्ययन गरेमा युएन नवोदय कलेजमा पूर्ण छात्रवृत्ति पाउने छन् ।
फष्ट रनर अपले ५ हजार रुपैयाँ नगदसहित जेभियरमा ५० प्रतिशत छात्रवृत्ति पाउने छन् भने धरानको धरान मेघा कलेजमा ५० प्रतिशत छात्रवृत्ति पाउनेछन् ।
त्यस्तै, सेकेण्ड रनरअपले ३ हजार रुपैयाँ नगदसहित जेभियर कलेजमा ३० प्रतिशत छात्रवृत्ति पाउनेछन् भने धरानमा अध्ययन गरेमा सुनाखरी एकेडेमीमा ३० प्रतिशत छात्रवृत्ति पाउने छन् ।
यसैगरी बेष्ट डिडिप्लिन र बेस्ट पब्लिक च्वाइसको उपाधि प्राप्त गर्नेलाई सियोन स्कुलमा प्लस टु अध्ययनको लागि ४० प्रतिशत छात्रवृत्ति पाउनेछन् । त्यस्तै पहिलो र सेमिफाइनलबाट बाहिरिएका सहभागीहरुलाई पनि प्लस टु अध्ययनका लागि धरानका कलेजमा २५ प्रतिशत छात्रवृत्ति प्रदान गर्ने ब्यवस्था गरिएको कार्यक्रम संयोजक एवम् प्रालिका अध्यक्ष तिर्थ कार्कीले जानकारी दिए ।
महामारीको समयमा लामो समयदेखि घरमा बसेका विद्यार्थीको ब्यक्तित्व र नेतृत्व विकास गराउने उद्देश्यले प्रतियोगिताको आयोजना गरेको कार्कीले जानकारी दिए ।
प्रतियोगिताको फाइनल श्रावण तेश्रो हप्ता हुने आयोजकले जनाएको छ । फाइनल राउण्डका लागि १०० पूर्णाङ्कमध्ये दिइएको शीर्षकमा ७५ अङ्क र फिल्ड भिजिट गरेर अवलोकन गरी २५ अङ्क प्रदान गरिने समेत आयोजकले जनाएको छ ।
उत्कृष्ट ७ जनालाई जीवनउपयोगी शिक्षा, आधारभूत पत्रकारिता, ब्यक्तित्व विकास, तनाब ब्यवस्थापन, करियर निर्माण, साइबर अपराध, डाइनिङ एटिकेट, पर्यटन आदि सम्बन्धी बन्द प्रशिक्षण गराइने कार्कीले जानकारी दिए । समाजसेवी गंगाप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सुमेधा एजुकेसन नेटवर्क प्रालिका अध्यक्ष एवम् अध्यापक सुरेन्द्र घिमिरे, नेपाल बसोबास बस्ती संरक्षण समाजका केन्द्रीय अध्यक्ष कुमार कार्की, पूर्वाञ्चल बागिना कलाकेन्द्र धरानका अध्यक्ष एवम् गायक भक्तिराज राई, सुनाखरी एकेडेमीका प्रिन्सिपल मिलन राई लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा गरिमा राईले स्वागत मन्तब्य राखेकी थिइन् ।

 

प्रकाशित मिति: साउन ११ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend