बेलबारी: मोरङको बेलबारीमा बिहीबार राति भएको मोटरसाइकल दुर्घटनामा परेर चालकको मृत्यु भएको छ ।
बेलबारी नगरपालिका–९ तीनकुटियामा भएको दुर्घटनामा बेलबारी–९ का २८ वर्षीय उमेश चौधरीको मृत्यु भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । चौधरीले चलाएको प्र १–०२–०४३ प ५७६८ नम्बरको मोटरसाइकल भित्री सडक खण्डबाट उत्तरतर्फ जाँदै गर्दा राति १० बजेतिर अनियन्त्रित भइ बिजुलीको पोलमा ठोक्किएर दुर्घटनामा परेको थियो ।
प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा विराटनगरको न्युरो अस्पतालमा राति ११ बजेतिर मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकलको पछाडि सवार ३० वर्षीय श्रवणकुमार विश्वास घाइते भएका छन् । उनको न्युरो अस्पतालमै उपचार भइरहेको छ । सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्राप्त नगरिकन चौधरीले मोटरसाइकल कुदाएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रवक्ता डिएसपी सुमनकुमार तिमल्सिनाले बताए । प्रहरीका अनुसार तीव्र गतिका कारण दुर्घटना भएको पाइएको छ ।