बिर्तामोडः कृषि ज्ञान केन्द्र झापाले आर्थिक वर्ष ०७७/७८ मा जिल्लाका कृषकलाई करिब रू दुई करोड अनुदान उपलब्ध गराएको छ ।
केन्द्रले कृषि कार्यक्रम अन्तरगत विभिन्न ११ शीर्षकमा १५९ व्यक्ति, कृषि समूह, कृषि सहकारी, फर्म लगायतलाई रू एक करोड ९९ लाख ५४ हजार ९०० अनुदान उपलब्ध गराएको कृषि ज्ञान केन्द्र झापाका कृषि अर्थविज्ञ शालिकराम भट्टराईले जानकारी दिए ।
मागमा आधारित कार्यक्रम अन्तरगत पाँच पालिकाका किसानलाई रू दुई लाख ५० हजार, कागती खेतीमा सात पालिकाका १२ फर्मलाई रू २१ लाख २३ हजार तीन सय, व्यावसायिक फलफूल बगैंचा स्थापनार्थ चार पालिकाका पाँच फर्मलाई रू नौ लाख एक हजार एक सय अनुदान उपलब्ध गराएको छ ।
त्यस्तै, बीउबिजन आत्मनिर्भर कार्यक्रम अन्तरगत तीन पालिकाका चार फर्मलाई रू तीन लाख ९६ हजार आठ सय, बगरखेती प्रबद्र्धनका लागि छ पालिकाका १० फर्मलाई १० लाख एक हजार, जैविक तथा वानस्पतिक विषादि प्रयोग विस्तार कार्यक्रम अन्तरगत छ पालिकाका फर्महरुलाई रू छ लाख, महिला, दलित, विपन्न तथा पिछडिएको समुदाय लक्षित कार्यक्रम अन्तरगत आठ पालिकाका १० फर्मलाई रू १० लाख अनुदान दिइएको कृषि अर्थविज्ञ भट्टराईले बताए ।
कृषि हाटबजार तथा संकलन केन्द्र निर्माण गर्न तीन पालिका र एक सहकारी संस्थालाई रू ४० लाख अनुदान उपलब्ध गराएको छ । गौरादह नगरपालिका, गौरीगञ्ज गाउँपालिका, बुद्धशान्ति गाउँपालिका र टागनडुब्बा सामुदायिक साना किसान कृषि सहकारी संस्था लि.लाई रू १०÷१० लाखका दरले दिइएको कार्यालयले जनाएको छ ।
रैथाने बाली उत्पादन प्रबद्र्धन कार्यक्रम अन्तरगत मेचीनगर–१० की रुपा पौडेललाई रू एक लाख दिइएको छ । नमूना कृषि फर्म स्थापनाका लागि आठ पालिकाका १० फर्मलाई रू २६ लाख ६९ लाख तीन सय र कृषि यान्त्रीकरण, औजार खरीदका लागि ८२ व्यक्ति÷समूहलाई रू ७० लाख १३ हजार चार सय अनुदान सहयोग उपलब्ध गराइएको कार्यालयले जनाएको छ । जसमा न्यूनतम् रू १८ हजार सात सयदेखि अधिकतम् रू एक लाख २७ हजार सात सयसम्म रहेको छ ।