सुनसरीः जिल्ला प्रहरी कार्यालय सुनसरीले गएको एक महिनाको अवधिमा विभिन्न मुद्दाका २३८ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरि अदालतमा पेश गरेको छ ।
जसमा ५ दिनदेखि २० वर्षसम्म कैद सजाय तोकिएका प्रतिवादीहरु छन् । साउन १ गतेदेखि हालसम्म सम्मानित सुनसरी अदालतबाट कैद र जरिवाना तोकी फैसला भएका तर तोकिएको सजाय भुक्तान नगरी फरार रहेका अभियुक्तहरुलाई खोजतलास गरी जिल्ला अदालतमा पेश गरेको हो ।
कर्तव्य ज्यान, डाका, अपहरण तथा शरीर बन्धक, कुटपिट, चोरी, किर्ते, जालसाजी, लागूऔषध, ज्यान मार्ने उद्योग, भ्रष्टाचार आदिमा सजाय तोकी फरार रहेका प्रतिवादीहरुबाट ४९ वर्ष कैद सजाय फच्यौट भएको छ भने ९ लाख ३५ हजार ३ सय १९ रुपैयाँ जरिवाना समेत असुल भएको छ ।
सुनसरी प्रहरीको फरार पक्राउको यस अभियानले अपराधिक घटना घटाई समाजमा निस्फिक्री हिँड्ने प्रवृत्तिविरुद्ध लक्षित छ । अपराध गरी जतिसुकै भागे पनि उन्मुक्ति पाउन सकिँदैन भन्ने सन्देश यो अभियानले दिएको छ ।
फरार प्रतिवादी पक्राउका क्रममा मिति २०६६ बैशाख १६ गते आफ्नी नातिनी ५ वर्षीया सोशिलाकुमारी खत्वेलाई घाँटी वटारी मारेर प्लाष्टिकको बोरामा हालेर खेतमा गाडी फरार रहेका वसन्त खत्वे समेत रहेका छन् । उनलाई सुनसरी जिल्ला अदालतबाट जन्मकैद सजाय तोकिएको थियो ।



