Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरी प्रहरीको ९ करोड, ७० लाख बढीको भवन उद्घाटन

हाम्रो कोशी आवाज
साउन २८ २०७८, बिहिबार
सुनसरी प्रहरीको ९ करोड, ७० लाख बढीको भवन उद्घाटन

विराटनगरः शान्ति–सुरक्षा सबैको साझा जिम्मेवारी रहेको प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले बताएका छन् ।
नवनिर्मित जिल्ला प्रहरी कार्यालय सुनसरीको कार्यालय भवन, तथा आवास गृहको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथी प्रहरी महानिरीक्षक थापाले सो कुरा बताएका हुन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीको हाताभित्र बिहीबार बिहान भएको भवन उद्घाटन कार्यक्रममा बोल्दै उनले भवन आफैमा सबै चिज नभएको प्रस्ट पार्दै, नयाँ भवन सँग सँगै कार्यरत प्रहरी कर्मचारीहरुमा नयाँ सोच र धारणा आउनुपर्ने तथा रुपान्तरण हुनु पर्ने धारणा ब्यक्त गरे ।
कार्यक्रममा प्रमुख अतिथी प्रहरी महानिरीक्षक थापाले भवन निर्माणमा उल्लेखनीय भूमिका निर्वाह गर्नुहुने ब्यक्तित्वहरुलाई प्रशंसा पत्रले सम्मान समेत गरेका थिए । कार्यक्रममा बोल्दै सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले उचित बासस्थानको भरपर्दो ब्यवस्थाविना नै काम कारवाही गरिरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले सुरक्षित बासस्थान प्राप्त भए सँग सँगै अब थप हौसलाका साथ काम कारवाही गर्ने र विविध आपराधिक घटना नियन्त्रणमा थप बल पुग्ने धारणा ब्यक्त गरे ।
यसैगरी इनरुवा नगरपालिकाका प्रमुख राजन मेहेताले विकास निर्माणको पहिलो आधार भनेकै शान्ति सुरक्षा रहेको हुँदा आन्तरिक शान्ति सुरक्षाको प्रमुख जिम्मेवार रहेको नेपाल प्रहरी साधन श्रोतले सम्पन्न भएमा मात्र जन चाहाना बमोजिमको सुरक्षा प्रदान गर्न सक्ने हुँदा यस्ता किसिमका सुविधासम्पन्न नव निर्मित भवनले केही हदसम्म सहयोग गर्ने बताए ।
कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै १ नम्बर प्रदेश प्रमुख प्रहरी नायव महानिरीक्षक अरुणकुमार बिसीले भौतिक पूर्वाधारको अभाव र अपर्याप्ताले प्रहरी सेवाका कार्यहरुमा प्रत्यक्ष असर पर्ने बताउँदै सुविधा सम्पन्न भवन प्राप्त भए सँग सँगै नागरिक सेवामा अब विगतका दिनहरु भन्दा प्रभावकारी ढंगले अगाडि बढ्न नव निर्मित भवनको योगदान रहने विश्वास ब्यक्त गरे ।
२४ सै घण्टा ड्युटीमा रहनु पर्ने प्रहरी कर्मचारीहरुलाई यस्ता भौतिक सुविधाले थप मनोवल बढ्ने र कार्यक्षेत्रमा समेत यसले अनुकुल वातावरण सिर्जना गर्ने बताउँदै सुविधा सम्पन्न भवन प्राप्त भएसँगै थप जोस र उर्जाका साथ प्रहरी काम कारवाही गर्न कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिए । जिल्ला प्रहरी कार्यालय सुनसरीको साढे २ तले कार्यालय भवन तथा तिन तले आवास गृह ९ करोड, ७० लाख, ७२ हजार, ३२० रुपैयाँको कुल लागतमा निर्माण सम्पन्न भएको भएको हो । कार्यक्रममा स्थानीय जनप्रतिनिधीहरु, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधीहरु, नागरिक समाजका प्रतिनिधीहरु, विभिन्न महिला सञ्जाल, संघ संस्थाका प्रमुख तथा प्रतिनिधीहरु, सञ्चारकर्मीहरुका साथै स्थानियवासीहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: साउन २८ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend