धरानः सुनसरीको बराहक्षेत्र नगरपालिका १ का ६३ बर्षीय बरम बहादुर राईलाई एक थान भरुवा बन्दुकसहित पक्राउ गरिएको छ ।
गत २६ गते राईले बाँदरलाई गोली हान्दा उनकै नाति १३ वर्षीय अभिषेक राईलाई छर्राले लागेर घाइते भई उपचारको लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो ।
यो सूचना पाएको प्रहरीले उनलाई खोजतलास गरिरहेको थियो । खोजतलासकै क्रममा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले राईलाई विराटनगरबाट पक्राउ गरी इलाका प्रहरी कार्यालय महेन्द्रनगर बुझाएको हो ।
पक्राउ परेका राईको घर कोठाभित्र शुक्रबार प्रहरी टोली खटि गई लुकाइछिपाइ राखेको एक नाल भरुवा बन्दुक समेत बरामद गरेको छ । उनलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट ज्यान मार्ने उद्योग र हातहतियार मुद्दामा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।


