कृशलाको हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै स्थानीय (दायाँ तल र वायाँ माथि) । हत्यामा संलग्नको आरोपमा समातिएका युवा (माथि दायाँ) । मृतक कृशला (वायाँ तल) ।
उदयपुरः उदयपुरकी १६ वर्षीया किशोरी कृशला चौधरीको हत्यामा संलग्नको आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले त्रियुगा नगरपालिका वडा नम्बर ६ मोहनपुरकी कृशलाको हत्यामा संलग्न सप्तरी सुरुङ्गा नगरपालिका वडा नम्बर १ का २७ वर्षीय उचितलाल सदा र २३ वर्षीय विषे सदालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।
कृशला गत साउन १३ गते बेपत्ता भएकी थिइन् । उनी जंगलमा घाँस–दाउरा लिन गएकी थिइन् । तर उनी त्यसदिनदेखि घर फर्किनन् । उनी घर नफर्किए पनि बुबाले सोधिखोजी भने गरेनन् ।
पाँच दिनपछि साउन १९ गते मोहनपुरको राजदेवी सामुदायिक वन रातमाटे खहरे खोलामा कृशलाको शव फेला परेको थियो । स्थानीयले मानिसको शव गनाइरहेको थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । कृशलाको चिन्नै नसकिने अवस्थामा फेला परेको थियो ।
त्यसपछि उनको शव जिल्ला अस्पताल उदयपुरमा लगियो । त्यसको भोलिपल्ट मात्रै मृतकका बुवा प्रेमकुमार चौधरी प्रहरीको सम्पर्कमा आए । उनले अस्पताल पुगेर आफ्नी कान्छी छोरी हो भन्दै सनाखत गरे ।

त्यसपछि बुवाले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएपछि थप अनुसन्धान अघि बढाएको प्रहरी नायब उपरीक्षक गौतमले बताए । साथै शवको पोष्टमार्टम गर्न बिपी कोइराला प्रतिष्ठान धरान पठाएको थियो ।
कृशलाले आफ्नो परिवार बिगारेको हुँदा बदला लिन हत्या गरेको बयनान दिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कृशला र उचितलालकी दोस्रो श्रीमती साथी हुन् । प्रहरीले उचितलालकी श्रीमतीको पहिचान खुलाएको छैन। पहिलो श्रीमतीले पनि उनलाई पहिल्यै छाडेर गइसकेकी थिइन् । केही समय अघि उचितलाललाई उनकी अर्की श्रीमतीले पनि छोडेर गएकी थिइन् ।
‘एउटाले सलले घाँटी न्याँकेको छ । अर्कोले मुक्का हानेर हत्या गरेका थिए,’ प्रहरी स्रोतले भन्यो । प्रहरीले उनीहरू दुवै जनामाथि थप अनुसन्धान गरिरहेको छ । जिल्ला अदालत उदयपुरबाट प्रहरीले १० दिन हिरासतमा राख्न अनुमति लिएको छ ।
प्रारम्भिक चरणको सोधपुछका क्रममा मृतक कृशला र हत्यामा संलग्न उचितलालका श्रीमती साथी साथी भएको र उनै कृशलाका कारण घरपरिवार भाँडिएकाले आफूले हत्या गरेको बयान उद्धृत गर्दै प्रहरीले बताएको छ । कृशलाले घरबार बिगारेकै कारण बददलास्वरुप जंगलमा लगेर मुडड्की प्रहार गरी हत्या गरेको संलग्नले बयान दिएका छन् ।