विराटनगरः जिल्ला प्रहरी कार्यालय मोरङ दरबन्दी भई सोही कार्यालयमा कार्यरत प्रहरी नायव उपरीक्षक मञ्जिल मुकारुङ र प्रहरी चौकी मेल्छाम, हुम्ला दरबन्दी भई १ नं. प्रदेश प्रहरी कार्यालय, विराटनगर शाखामा कार्यरत प्रहरी जवान टिकाराम खापुङ साउन महिनाको सर्वोत्कृष्ट प्रहरी प्रहरी घोषित भएका छन् ।
विभागीय मूल्य–मान्यता, आदेश–निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान गरेकोले उनीहरु सर्वोत्कृष्ट प्रहरी घोषित भएका हुन् ।
कर्तव्य ज्यानजस्ता जघन्य प्रकृतिका अपराध गरी वारदात पश्चात फरार रहेका प्रतिवादीहरु, चोरी पैठारीलगायत विभिन्न आपराधिक घटनामा संलग्न व्यक्तिहरुलाई पक्राउ तथा कानुनी कारवाहीको दायरामा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुका साथै आम नागरिकहरुमा सुरक्षाको अनुभूति हुने गरी नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउनेतर्फ प्रशंसनीय कार्य गरेकोले प्रहरी नायव उपरीक्षक मुकारुङ र प्रहरी जवान खापुङलाई उनीहरुले गरेको उत्कृष्ट कार्यसम्पादनको उच्च मूल्याङकन गर्दै २०७८ साल साउन ‘महिनाको सर्वोत्कृष्ट प्रहरी’ घोषणा गरिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिए ।